मालपोत कार्यालयका हाकिमसहित १६ जना विरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका १३ कर्मचारीसहित १६ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकास्थित २ रोपनी ८ आना जग्गा जग्गाधनीलाई थाहै नदिई नक्कली जग्गाधनीको नामबाट बिक्री गर्ने कार्यमा संलग्न रहेको भन्दै प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।

मालपोतकै कार्यालय सहयोगी चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगरले अन्य कर्मचारीलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उप्काई आफ्नो फोटो टाँसी नक्कली प्रमाणपूर्जा र नागरिकताको प्रमाणपत्रसमेत खडा गरी नक्कली जग्गाधनीको नामबाट गैरकानुनीरुपमा जग्गा बिक्री र खरिद गरेको देखिएको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

यस प्रकरणमा मालपोत अधिकृतहरु खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुमार खरेल, टाइपिस्ट जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्का, चन्दनकृष्ण कायस्ठ भन्ने राजु थापामगर, सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालसिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतमविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारले कार्यालय सहयोगी चन्दनकृष्ण कायस्थ भन्ने राजु थापामगर, सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालमान सिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतमसँग ६ करोड विगो माग दावी गरेको छ ।

अर्थ कवच वचत तथा ऋण सहकारी संस्थाका निर्देशक नवदुर्गाप्रसाद ढुंगेल, प्रबन्ध निर्देशक सुरेशकुमार थापा र सानिमा विकास बैंक ललितपुर एकान्तकुना शाखाका ट्रेलर सनिश सापकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरी ६ करोड रुपियाँ विगो दावी गरेको दंगालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement