पाँच महिनामा छ खर्ब बढीको आयात, निर्यात भने साढे ३७ अर्ब मात्रै

Advertisement

काठमाडौं । नेपालले ६ रुपियाँ बराबरको सामान निर्यात गर्दा ९४ रुपियाँ बराबरको आयात हुँदै आएको तथ्याङ्क सार्वजनिक भएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कले निर्यातको तुलनामा आयातको मात्रा बढी रहेको देखाएको हो ।

केन्द्रकाअनुसार कूल व्यापारमा निकासीको मात्रा पाँच दशमलव आठ प्रतिशत छ भने आयात ९४ दशमलव दुई प्रतिशत छ । चालू आवको पाँच महीनाको अवधिमा कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव तीन प्रतिशतले वृद्धि भई रु छ खर्ब ४४ अर्ब ५० करोड पुगेको छ ।

पाँच महीनाको अवधिमा कूल निर्यात १२ दशमलव तीन प्रतिशतले वृद्धि भई रु ३७ अर्ब ५० करोड हुँदा आयात भने ३३ दशमलव आठ प्रतिशतले बढेर रु छ खर्ब सात अर्ब पुगेको छ । आव २०७४/७५ को पाँच महीनाको अवधिमा निर्यात र आयात व्यापारको अनुपातमा समेत उच्च वृद्धि भएको छ । निर्यातको  तुलनामा आयातको मात्रा बढेका कारण मुलुकको व्यापार घाटासमेत बढ्दै गएको केन्द्र्रले जनाएको छ ।

मुलुकका लागि अति आवश्यक वस्तु जस्तै पेट्रोलियम पदार्थ, विकास निर्माणका लागि चाहिने फलाम तथा स्टीलका उत्पादन, निर्माण उपकरण तथा अन्य यन्त्र र तिनका सामान मुलुकमा उत्पादन नहुने तर नभई नहुने यातायातका साधान, विद्युतजन्य उपकरण तथा हवाईजहाज तथा तिनका सामानको आयात बढेको छ ।

नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य वस्तुको आयात यस अवधिमा करीब १४ प्रतिशतले वृद्धि भएको छ । यस्तै सुन चाँदी जस्ता वस्तुको आयातको हिस्सा पनि नेपालको कूल व्यापारको लगभग चार प्रतिशतको हाराहारीमा छ ।

समीक्षा अवधिमा कृषिजन्य वस्तुको निर्यातमा २६ प्रतिशतको वृद्धि भई रु ११ अर्ब ४४ करोड पुगेको छ । साथै परम्परागत रुपमा निकासी भई रहेका गैरकृषिजन्य वस्तु ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, यार्न जस्ता वस्तुमा उल्लेख्य वृद्धि भएकोले मुलुकको समग्र निर्यातमा सुधार देखिएको छ ।

निर्यातको आयतन पहिल्यैदेखि आयातको तुलनामा धेरै सानो भएको हुँदा यस वृद्धिले मुलुकको निर्यात आयात अनुपातलाई सुधार गर्न खासै योगदान दिन सकेको छैन ।

नेपालको वैदेशिक व्यापारको देशगत संरचना गन्त्व्यका दृष्टिले नेपालको निर्यात व्यापारमा भारतको हिस्सा उल्लेख्य छ । अन्य प्रमुख गन्तव्य मुलुकमा संयुक्त राज्य अमेरिकामा १२ प्रतिशत, जर्मनी चार प्रतिशत बेलायत चार प्रतिशत र टर्की तीन प्रतिशत छन् ।

भारततर्फको निकासीमा २० दशमलव ५ प्रतिशतले वृद्धि भई रु २१ अर्ब ९२ करोड पुगेको छ । भारतमा निकासी भएका प्रमुख वस्तुमा चिया, जुस, फलाम तथा फलामका उत्पादन, कपडा, जुटका उत्पादन, अलैंची छन् ।

यस्तै संयुक्त राज्य अमेरिकातर्फको निर्यातमा २६ दशमलव ६ प्रतिशतले वृद्धि भई रु चार अर्ब ६८ करोड पुगेको छ । अमेरिका निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, फेल्ट, छुर्पी, टोपी र ग्लासवेयरलगायत छन् ।

Advertisement

Advertisement

Advertisement