सोह्रौं अनशन बस्न लागेका केसीको अनशन एकाएक स्थगित

Advertisement

इलाम । सोह्रौं चरणको अनशन बस्न इलाम आइपुगेका डा.गोविन्द केसीले अन्तिम समयमा आएर अनशन स्थगित गरेका छन् । लामो समयदेखि चिकित्सा क्षेत्र सुधारका लागि संघर्ष गर्दै आएका उनले सात दिनलाई अनशन स्थगित गरेका हुन ।

उनले बुधबार साँझ सदरमुकाममा पत्रकार सम्मेलन गरी संसद्को संसदीय समितिको आग्रह स्वीकार गर्दै केही दिन लागि अनसन पर सारेको बताए । केसीले भने, ‘म अनशन बस्नै आएको हुँ । तर, संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले कम्तीमा २ दिन अनशन नबस्न आग्रह गरेपछि केही दिन पर्खिने निर्णयमा पुगेको हुँ।’

सो समितिमा आज चिकित्सा शिक्षा विधेयकमा छलफल भएको थियो । छलफल केही दिन लम्बिने देखिएपछि घर्तीले केसीलाई फोन गरेर पर्खिन आग्रह गरेकी हुन् । साथै, घर्तीले साउन १० को सहमतिअनुसारै ऐन ल्याउन पहल भइरहेको पनि केसीलाई जानकारी गराएकी थिइन् ।

मंगलबार इलाम आएका केसीले सदरमुकाममा अनशन बस्न ठाउँ खोजिरहेको बेला केसीले एकाएक अनशन एक हप्तालाई पर सारेका हुन् । यसअघि उनले जुम्लामा २७ दिन आमरण अनशन बसेका थिए । केसीले अब पनि माग पूरा नभए कुनै पनि हातमा अनशन बस्ने बताउँदै विद्येयक पास पर्न आलटाल गर्ने काम भइरहेको बताए ।

केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गरी आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन पर्खिरहेका काठमाडौंका मेडिकल कजेल सरकारले किनिदिएर काठमाडौंबाहिर जान सहजीकरण गर्नेलगायतका माग छन् ।

Advertisement

Advertisement

Advertisement