अमेरिकी राजदूतले सोधपछि मन्त्री पुनले भने– कानुनी जटिलताले ‘एमसीसी’ परियोजना रोकिँदैन्

Advertisement

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अमेरिकी लगानीको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कानुनी जटिलताले नरोकिने बताएका छन् ।

अमेरिकी राजदूत रेण्डी डब्लु बेरीसँग बिहीबार भएको भेटमा पुनले एमसीसीका परियोजना समयमै सम्पन्न गर्नेगरी काम भइरहेको बताए । अमेरिकी राजदूतले यस परियोजना ढिलो हुनुको कारणबारे सोध्न मन्त्री पुनलाई भेटेका थिए । उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्दै मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई यस क्षेत्रमा लगानी गर्ने बाताबरण बनाइदिन आग्रह गरे ।

उनले नेपाललाई १० वर्षमा १५ हजार मेगावाट विजुली आवश्यक हुने जानकारी दिँदै आफूले प्रसारण लाइनको गुरुयोजना सार्वजनिक गरेको सुनाए । वर्तमान सरकारको प्राथमिकता लगानी र आर्थिक विकास रहेको पुनले बताए ।

अमेरिकी राजदूत बेरीले नेपालको उर्जा क्षेत्रमा साझेदारी गर्न अमेरिका ईच्छुक रहेको बताए । उनले एमसीसी परियोजनाबारे उर्जामन्त्रालयको प्राथमिकताबारे चासो राखेका थिए । बेरीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अमेरिका भ्रमणमा अमेरिकी विदेशमन्त्री माइक पम्पेसँग एमसीसी परियोजनालाई अघि बढाउने विषयमा महत्वपुर्ण छलफल भएको जानकारी दिए ।

उनले भने, ‘एमसीसी परियोजनाको कार्यान्वयनपछि नेपालमा भौतिक पूर्वाधारणको विकास हुनेछ । त्यसका लागि आगामी दिनमा समेत हामी नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौ ।’

Advertisement

Advertisement

Advertisement