बाइडबडी खरिदबारे उपसमितिले गरेको छानविन नै गलत छः कँडेल

Advertisement

काठमाडौं । आफूलाई ‘इनोभेटर’को रुपमा चिनाउँदै आएका ईन्जिनियर दीपेन्द्र कँडेलले वाइडबडी विमान खरिदप्रकरणमा छानबिन गर्न गठित संसदीय उपसमितिले सार्वजनिक गरेको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी गरेका छन् ।

उनले पत्रकार सम्मेलन गरेर विमान खरिद प्रक्रिया राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय सरोकारको विषय भएकोले यसमा घोटाला भएको वा नभएको भनी छानबिन गर्न नेपालको समितिले मात्रै गरेर पूरा नहुने जिकिर गरे ।

कँडेलले भने, ‘यो प्रकरणमा छानबिन गर्नको लागि आईकाओ, हाई–फ्लाई र एयरबसको समेत सहभागिता हुनुपर्छ । नेपालको समितिले मात्रै छानबिन गरेर ल्याएको प्रतिवेदन अधुरो र अपूरो हुन्छ । त्यसैले यसलाई वैधानिकता दिनको लागि पनि अन्तर्राष्ट्रिय सरोेकारवालाहरुलाई पनि सहभागिता गराउनुपर्छ ।’

उनले विमान किनेको नभई भाडामा ल्याईएको पनि दाबी गरे । कँडेलले भने, ‘नेपालले वाइडबडी खरिद गरेको होइन, भाडामा ल्याएको हो । हाई–फ्लाई कम्पनीबाट भाडामा ल्याएको वाइडबडी घोटालाका बारेमा नेपाल सरकारले एउटा प्रतिवेदन तयार पार्छ । नेपालमा रहेका केही मन्त्री, कर्मचारीलाई कारबाही गर्ला तर त्यो न्यायोचित हुँदैन । आईकाओ, हाईफ्लाइ, एअरबसमाथि पनि छानविन हुनुपर्छ ।’

उनले आफू पनि यही ‘फिल्ड’मा अध्ययन तथा अनुसन्धान गरिरहेको व्यक्ति भएको नाताले यो प्रकरणको बास्तविक सत्य, तथ्य बाहिर ल्याउनको लागि आवश्यक परे सहयोग गर्न पनि तयार रहेको बताए ।

उनले हाइफ्लाईबाट भाडामा ल्याएको विमानमा कति जना नेपाली पाईलट छन् ? यसको उत्तर कसैले दिन्छ ? भन्दै उल्टै प्रश्नसमेत तेर्साए । कँडेलले थपे, ‘के नेपाली पाईलटहरु अयोग्य हुन त ? होईन, भने वाईडबडी उडाउन किन विदेशी विमान चालक ल्याईयो त ?’

उनका अनुसार अहिले पनि वाइडबडीमा टर्की, अष्ट्रेलिया, कोरिया र पाकिस्तानका मुख्य पाईलट छन् र सहायक–विमान चालकको रुपमा मात्रै नेपालीलाई राखिएको छ । उनले भने, ‘हाईफ्लाईले भाडामा दिएको जहाज आफ्नो पाईलट नदिएर के नेपालीलाई चलाउ भनेर दिन्छ ? मेरो कार कसैलाई केही समयका लागि भाडामा दिँदा आफ्नो चालकसमेत दिन्छु । सुरक्षाका हिसाबमा दिने हो नि ? यो कुरा सरकारले किन बुझ्दैन ?’

Advertisement

Advertisement

Advertisement