सडक विभाग र मेलम्ची आयोजनाबीच एकअर्काको काममा बाधा पुर्याएको आरोप-प्रत्यारोप

Advertisement

काठमाडौं । सडक विभाग अन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजना र मेलम्ची खानेपानीको आयोजना कार्यन्वयन निर्देशनालयबीच एकलेअर्काको काममा बाधा अवरोध गरेको भन्दै आरोप प्रत्यारोप हुन थालेको छ ।

मेलम्चीे आयोजनाको पानी वितरणका लागि उपत्यकामा पाइप विच्छाउँदै गरेको आयोजना कार्यान्वयन निर्देशनालय र सडक चौडा र पुल निर्माणको कार्य गर्दै आएको सडक विस्तार आयोजनाले आपसी समन्वय गरेर कार्य अगाडी बढाउनुको सट्टा एक आर्काबीच आरोप प्रत्यारोपमा उत्रेका हुन् ।

केही समय अगाडी सडक विभाग अन्तर्गतको सडक बिस्तार परियोजनाले निर्माण गरिरहेको माइतीघर —कोटेश्वर सडकखण्डमा पर्ने धोबीखोला र बाग्मती माथि बन् लागेका आर्च पुलहरु मध्य धोबीखोला पुलको तल्लोपट्टीको पुल सकिनै लाग्दा मेलम्ची खानेपानी आयोजनाले पाइप राख्न खनिदिएपछि सडक विस्तार आयोजना रुष्ट देखिएको छ ।

ठेकेदारले पुलको निर्माण कार्य अन्तिम समयमा पुर्याइ सकेको अवस्थामा पुर्दै गरेको एप्रोच रोडमा मेलम्ची आयोजनाले पाइप गाड्न खनिदिएकाले पुलको निर्माण सम्पन्न हुने समय अनिश्चित भएको सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले बताए ।

लामो समयदेखि पुल बन्ने प्रक्रियामा रहेता पनि मेलम्ची आयोजनाले पुल निर्माण सम्पन्न हुने बेलामा मात्रै आएर पुल निर्माणलाई प्रभावित पारेको उनको भनाइ छ । ‘पुल निर्माण भइरहेको कुरा निर्देशनालयलाई थाहा थियो, पहिलेनै उक्त पाइप गाडेको भए पुल निर्माणमा कुनै बाधा आउने थिएन्,’ श्रेष्ठले भने ।

‘यसरी एउटा निकायले गरेको कार्यमा अर्को निकायले अबरोध गरिदिएपछि कसरी निर्माण कार्य समयमा सम्पन्न गर्न सकिन्छ ?’ उनले भने, ‘ खानेपानीको पाइपले मात्र होइन, विजुली र दुरसञ्चारका तार तथा ढलका पाइपहरुले पनि सडक विस्तार र पुल निर्माणको कार्यमा बाधा पुर्याइरहेका छन् ।’

उता मेलम्ची आयोजनाको आयोजना कार्यन्वयन निर्देशनालयले आफ्ने कार्यमा सडक विभागलाई नै एक प्रमुख बाधक देख्ने गरेको छ । सडक विभागले सम्र्पूण सडकमा आफ्नो मात्रै अधिकार भएजस्तो गरेर ओगटेर बसेकाले पाइप विच्छ्याउने कार्यमा बाधा पुग्ने गरेको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले बताए ।

धोबीखोलाको आर्च पुलमा पाइप गाड्ने काममा ढिलाइ सडक विभागलेनै खन्ने स्वीकृति दिन ढिलाइ गरेकाले भएको उनले बताए । सडक विभागले खन्न स्वीकृति नदिइकन कसैले एक इन्च पनि सडक खन्न मिल्दैन्,’ उनले भने, ‘विभागले स्वीकृति दिन ढिलाइ गर्दा पाइप विच्छाउने कार्यमा धेरैन ढिलाइ हुने गरेको छ ।’

यसरी सरकारी निकायहरुबीच समन्वयको अभावले विकास निर्माणका कार्यमा ढिलाइ त भएको छ नै यसले गदौ राज्यको ठूलो धन राशी खर्च हुनुको साथै सर्वसाधारण जनता धुलो र हिलोको सिकार हुनुपरेको छ ।

Advertisement

Advertisement

Advertisement