विपन्नको उपचारका लागि अब पाँच लाख दिन्छौंः दाहाल

Advertisement

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको रु एक लाख रकम वृद्धि गरी रु पाँच लाख पुर्याउने बताएका छन् ।

भक्तपुरमा शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाको २८औँ राष्ट्रियसभामा दाहालले विपन्नको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने भएपछि अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताए ।

देशमा बढ्दै गएको ‘अर्बुद’ रोगप्रति चिन्ता व्यक्त गर्दै उनले अब कोही पनि नागरिकले उपचार खर्चको अभावमा ज्यान गुमाउने अवस्था नआउने जिकिर गरे । सरकारले अस्पतालमा अर्बुद उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण वितरण गर्ने बताउँदै दाहालले अहिले उपकरण ल्याउन भइरहेको प्राविधिक जटिलता अन्त्य गरी सुलभ र अत्याधुनिक उपकरणबाट अर्बुद रोगको उपचार गर्न आवश्यक कदम सरकारले चालिरहेको बताए ।

उनले अर्बुद रोग न्यूनीकरणका लागि जनचेतना फैलाउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गरे । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले अर्बुद रोग न्यूनीकरणका लागि निरोधात्मक र प्रचारात्मक अभियानलाई सशक्त बनाउनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement