भएका पनि पलायन हुने र नयाँ पदपूर्ति नहुँदा ‘नार्क’मा वैज्ञानिक सकिँदै

Advertisement

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दरबन्दी भन्दा आधा मात्रै वैज्ञानिक कार्यरत रहेका छन् । कृषि र पशुका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दे आएको सो संस्थामा दरबन्दी अपर्याप्त र दरबन्दी भन्दा कम जनशक्ति कार्यरत छन् ।

जनशक्ति अभाव अरु प्राविधिक र गैरप्राविधिक जनशक्तिमा पनि रहेको परिषद्ले जनाएको छ । तीन दशकदेखि जनशक्ति हेरफेर नभएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताए । नार्कमा सबैभन्दा अपर्याप्त जनशक्ति वैज्ञानिकको छ ।

नार्कमा ४०६ जनाको दरबन्दी रहेकामा २२५ वैज्ञानिक मात्र कार्यरत रहेका छन् । सोमा कार्यरत वैज्ञानिक राम्रो अवसर आउनासाथ अन्यत्र जाने हुँदा जनशक्तिको अभाव रहेको बताइन्छ । विसं २०४८ मा बनेको जम्मा एक हजार ८२३ दरबन्दी अहिलेसम्म पनि कायमै छ ।

दरबन्दी भन्दा झण्डै ६०० कम जनशक्ति कार्यरत हुँदा नार्कका कार्यक्रम नै प्रभावित हुने अवस्था छ । नार्कमा अध्ययनका लागि विदेश गएका फर्किएर नआउने र कतिपय भने अवकाश पाउँदा जनशक्ति घटिरहेको छ । गतवर्ष विभिन्न कारणले कार्यरतमध्ये १२ जना कम भएका छन् ।

उनले भने, “लोक सेवाले नै पदपूर्ति गर्ने भनेकाले नयाँ नियुक्ति हुन सकिरहेको छैन ।” नार्कमा अहिले वैज्ञानिक, प्राविधिक अधिकृत, प्राविधिक सहायक र लेखा तथा प्रशासन गरेर चार खालका जनशक्ति कार्यरत छन् । दरबन्दी भन्दा १८१ वैज्ञानिक, ९४ प्राविधिक अधिकृत, प्राविधिक सहायक ८० र प्रशासनतर्फका कर्मचारी ३२ दरबन्दी रिक्त छन् । नार्कमा दरबन्दी रहेका नौजना अहिले विदेशमा अध्ययनरत छन् । विदेशमा अवसर पाएपछि कतिपयले आफैँ राजिनामा गर्ने गरेका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

Advertisement

Advertisement

Advertisement