उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

Advertisement

काठमाडौँ । जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरकी ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि सोचेकी  थिईनन् ।

जन्मिँदादेखि दुई वर्षको हुँदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो, हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो । बोल्न छाड्यो । हिरादेवीले भनिन्, “सामान्य रूपमा हिँड्न थाले पनि माटो पाए माटै, जे पायो त्यही खान थालेपछि बाँध्नुपरेको छ ।”

हिरादेवीको नाति रक्की १० वर्षको भएको छ । सात वर्षअघिदेखि परिवारले उनलाई घरभित्र र बाहिर खटियामा हात बाँधेर राख्दै आएका छन । जे पायो त्यही खाइदिने, शरीरमा दिसापिसाब आएको थाहा नहुने र दिसापिसाब पनि खाइदिन थालेपछि बाँध्नुपरेको हिरादेवीले बताएकी छिन् ।

हिरादेवीको सनवोरा नदी किनारामा एक कठ्ठा जग्गामा बनेको छाप्रो मात्रै सम्पत्तिका रूपमा रहेको छ । उहाँका छोरा र बुहारीले मजदूरी गरी घरको खर्च धान्ने गरेका छन । मजदूरी नगरे परिवारले भोकै बस्नुपर्छ । आर्थिक अभावले रक्कीको परिवारले उपचार गराउन पाएको छैन । भारतको नयाँ दिल्लीमा मजदूरी गर्न गएका बेला परिवारले चिकित्सकलाई देखाउँदा मानसिक अवस्था कमजोर रहेकाले उपचार गरे ठीक हुनसक्ने चिकित्सकले बताएको हिरादेवीले बताएकी छिन ।

परिवारको साँझ बिहानको खर्च उठाउन त निकै मुस्किल भएको अवस्थामा उपचार गराउने पैसा भएन । “बाध्यतावश घरमै बाँधेर राख्नुपरेको छ ।” उनले भनिन्, “छिट्टै जाति गराउन पाए हुन्थ्यो । उपचार पाएर ठीक हुन्छ कि भन्ने आशा छ । कहाँ उपचारका लागि लैजाने त्यो पनि थाहा छैन । उपचारका लागि एक सुको पैसा घरभित्र छैन । एक जनाले रक्कीकै लागि घर कुर्नुपरेको छ । यस्तो अवस्था कसैलाई नआओस् ।”

जनप्रतिनिधि आए पनि कसैले उपचारका लागि सहयोगी हात अगाडि नबढाएको सुनार परिवारको गुनासो छ । निर्वाचनका बेला मत माग्नका लागि घर दैलोमा पुगेकाले निकै अश्वासन दिएको सुनार परिवारको स्मरणमा छ । चुनाव जितेर पदमा पुगेपछि सोध्न पनि कोही नआएको हिरादेविले बताईन् ।

पीडित बालककै घर छेउमा वडा अध्यक्षको घर भए पनि उपचारका लागि पहल नगर्नु दुःखद् भएको उनको भनाइ छ । सुनार परिवारले रक्कीको उपचारका लागि दातृ निकायलाई समेत गुहारेका छन् । सहयोगी हात अगाडि बढाई उपचार गराइदिन आग्रह गरेका छन् ।

Advertisement

Advertisement

Advertisement