नेपाल टेलिकमका नयाँ एमडीले काम सुरु गरे, भ्रष्टाचार गर्नेलाई नछोड्ने प्रतिवद्धता

Advertisement

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीले सोमबार पदभार ग्रहण गरे । सानै उमेर र कनिष्ठ भएर पनि नेपाल टेलिकमको एमडी बन्न सफल अधिकारी यसअघि कम्प्नीको प्रवन्धक पदमा कार्यरत थिए ।

उनलाई मन्त्रिपरिषदको पुस १९ गतेको बैठकले तीन बर्षका लागि एमडी नियुक्त गरेको हो । पदभार ग्रहण गर्दै अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर पाएको बताए ।

अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरुलाई आग्रह गरे । उनले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने बताए ।

अधिकारीले परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, एक करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए ।

त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने बताए ।

तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ मा टेलिकम इन्जिनियर पदमा प्रवेश गरेका उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा विशिष्ट श्रेणीमा एमएस्सी गरेका छन् । त्यसैगरी २०५८ मा पुल्चोक क्याम्पसबाटै इलेक्ट्रोनिक्स इन्जिनियरिङमा विशिष्ट श्रेणीमा बीई गरेका छन् ।

Advertisement

Advertisement

Advertisement