आयल निगममा ओलीका सहयोगी कार्यकारी निर्देशक नियुक्त

Advertisement

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धक रहेका उनी १६ प्रतिस्पर्धीलाई पछि पार्दै पद हात पार्न सफल भएका हुन् । केपी ओली निकट मानिएका पौडेललाई यसअघि नै कार्यकारी निर्देशक नियुक्ति गरिने अनुमान गरिएको थियो ।

आर्थिक लाभका हिसावले आकर्षक मानिँदै आएको नेपाल आयल निगमको कार्यकारी निर्देशक बनाउन सत्तारुढ नेकपामा नेता महेश बस्नेत र सो पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाईं जीवन आचार्य (गंगा दाहालका श्रीमान) लबिङमा लागेका थिए ।

महेश बस्नेतले पौडेललाई बोकेर नियमितरुपमा प्रधानमन्त्री निवास बालुवाटार धाइरहेका थिए भने प्रचण्डका छोरी र ज्वाईं भने सिक्टा सिंचाई आयोजनामा पूर्वप्रमुख रमेश बस्नेतलाई नै बनाउनुपर्ने भन्दै प्रचण्ड निवास खुमलटार धाउने गरेका थिए ।

सत्तारुढ दलकै दुई वटा शक्ति केन्द्रको स्वार्थ बाझिँदा आयल निगमको एमडी नियुक्तिको प्रक्रिया तीन महिनादेखि अन्योलमा परेको थियो । जबकी योभन्दा निकै पछि दरखास्त आव्हान गरिएको नागरिक लगानी कोषमा यसअघि नै कार्यकारी प्रमुख नियुक्ति भइसकेको छ ।

आवेदन दिएपछि नै रमेश बस्नेत र सुरेन्द्र पौडेलले आफूलाई नियुक्ति गराउन सत्तारुढ दल नेकपा दुई जना अध्यक्षमध्ये एक एक जनालाई समाउँदै मन्त्री मात्रिका यादवलाई दबाब दिएपछि यादव सुचना नै रद्द गर्ने मनस्थितिमा पुगेका थिए । आफ्नो मन्त्रालय मातहतको संस्थामा आफूले चाहेको व्यक्तिलाई नियुक्त गर्न नपाउने र माथिको दोहोरो दबाब खेप्नुपरेपछि उनी प्रक्रिया रद्द गर्ने मनस्थितिमा पुगेका हुन् ।

पूर्वमाओवादी केन्द्रको भागमा परेको मन्त्रालय मातहतको नियुक्ति आफूले गर्न पाउनुपर्ने प्रचण्डको जिकिर थियो । त्यसमाथि छोरी ज्वाईंले नै बारम्बार ताकेता गरेपछि उनी थप नैतिक संकटमा परेका थिए ।

यता पौडेल प्रधानमन्त्रीको गृहजिल्ला झापाकै भएको र उनलाई सहयोग गर्दै आएकाले उनलाई कार्यकारी निदेशक अनुमान गरिए धेरैको अनुमान मिलेको छ । भक्तपुर बस्दै आएका पौडेलको सम्वन्ध नेकपाका युवा नेता महेश बस्नेतसँग राम्रो रहेको छ । बस्नेतकोमा उनको आवतजावत पनि हुने गर्छ । सोही सम्वन्धलाई उनले आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

Advertisement

Advertisement

Advertisement