लोडसेडिङमुक्त घोषणा गरिएको काठमाडौंमा पनि पटक पटक अघोषित लोडसेडिङ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले व्यापक प्रचारप्रसारका साथ लोडसेडिङमुक्त क्षेत्र घोषणा गरेको काठमाडौंमा समेत अहिले हरेक दिन दर्जनौं पटक अघोषितरुपमा लोडसेडिङ गर्दै आएको छ ।

जाडोका कारण विद्युत माग निकै बढेको र प्रणालीमा समस्या भएका कारण छिन छिनमा बत्ति जाँदा उपभोक्ता हैरान भएका छन् । लोकप्रियताका लागि हतार हतार काठमाडौंसहित प्रमुख शहरी क्षेत्रलाई लोडसेडिङ घोषणा गरेको प्राधिकरण व्यवस्थापन घोषणा कायम राख्न अहिले असफल भएको छ ।

माग बढेकै कारण प्राधिकरणले भारतबाट अहिलेसम्मकै उच्च विद्युत आयात गरिरहेको छ । बुधबारको रेकर्डअनुसार ५१३ मेगावाट भन्दा बढि विद्युत भारतबाट आइरहेको छ । जाडोका कारण मानिसहरुले विद्युतीय सामग्रीहरुको प्रयोग बढि गरेकोले खपत बढि भइ लोड धान्न नसकेर यस्तो समस्या आएको स्वयम प्राधिकरण कर्मचारीहरु स्वीकार गर्छन् ।

प्राधिकरणको नोलाइटको नम्बर ०१–४१५३१६४ मा फोन गर्दा त्यहाँका एक कर्मचारीले भने– लोड बढि भएकाले कतै ट्रान्सफर्मर, कतै एमसीभीमा समस्या आएकाले लोडसेडिङ धेरै भएको हो । मर्मत सुधारको काम भइरहेको छ । एकैचोटी धेरैतिर समस्या आएकोले त्यस्तो भएको हो ।

यता प्राधिकरणकी सुचना अधिकृत लीला अर्यालले भने लोडसेडिङको कारण लोड व्यवस्थापन नभई फल्ट (सिस्टमको समस्या)ले भएको तर्क गरिन । उनले त्यस्ता फल्ट भएका ठाउँमा मर्मत गर्ने काम भइरहेको पनि बताइन् ।

प्राधिकरणको वितरण प्रणाली धेरै पूरानो रहेको र यसलाई सुधार गर्नतर्फ ध्यान नदिएकाले यस्ता समस्याहरु बारम्बार आउने गरेका छन् । त्यसमाथि जाडोका कारण मानिसहरुले हिटर जस्ता विद्युत बढी खपत हुने सामग्रीहरुका प्रयोग बढि गर्दा पूरानो सिस्टम छिन छिनमै बिग्रिने समस्या रहेको छ ।

बारम्बर विद्युत कटौती हुँदा विद्युतीय उपकरणदेखि उद्योगधन्दाका उपकरणहरु समेत चाँडै बिग्रिने, उद्योगहरुको उत्पादनमा समेत ह्रास आउने गर्दछ ।

Advertisement

Advertisement

Advertisement