सहकारीले गरेका उत्पादनलाई सहकारी मन्त्रीले बजार खोजिदिने

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषिबाट समृद्धि हासिल गर्न सकिदैन भन्ने मानसितकमा परिवर्तन गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय सहकारी महासंघको बार्षिक साधारणसभामा मन्त्री अर्यालले सरकारले गरिवी निवारण र समृद्धिको आधारमा रुपमा सहकारीलाई प्रोत्साहन गरिरहेको बताउँदै कृषिबाट नै संवृद्धि हासिल गर्न सहकारीको ठूलो भूमिका रहने बताइन् ।

उनले सहकारीका उत्पादनका लागि बजारीकरण गर्ने कार्य सरकारले गर्ने बताइन् । अर्यालले भनिन्, ‘सबैले स्वीकार गर्ने कार्यक्रम बनाउँनुस् । पैसाको कमिले ती कार्यक्रम रोकिने छैनन । त्यसको जिम्मेवारी म लिन्छु ।’ उनले सख्यात्मक रुपमा भन्दा पनि गुणात्मक रुपमा सहकारीको प्रवद्र्धन गर्नका लागि स्थानीय तहले प्रभावकारी रुपमा नियमन, प्रवद्र्धन गर्नुपर्ने बताइन् ।

मन्त्री अर्यालले भनिन्, ‘नापी र मालपोतको भ्रष्ट्राचारले गलेको मनलाई उत्साहित बनाउने काम सहकारीले गरेको छ । यो उत्साहलाई बुद्धि गर्नका लागि सहकारीले नमुना कार्य गर्नुपर्दछ ।’ उनले नापी र मालपोतमा हुने अनियमितताको अन्त्यका लागि एउटा सिस्टम नै विकास गर्न आफू सक्रिय रहेको बताइन् ।

महासंघका अध्यक्ष केशव बडालले निजी तथा सहकारी क्षेत्रको संयुक्त प्रयासमा मुलुकलाई संवृद्ध गर्न सकिने बताए । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले सहकारी नेपाली समाज र अर्थतन्त्रको अभिन्न अंग भएको बताए । उनले प्रारम्भिक सहकारी संस्थाहरु व्यवस्थित रुपमा संचालन गर्नका लागि एकीकरणमा जोड दिँर्दै निर्माण हुने कानुनहरुलाई सहकारीमैत्री बनाउनुपर्ने बताए ।

नेकपाका नेता पशुपति चौलागाइ, महासंघका वरिष्ठ उपाध्यक्ष, मिनराज कँडेल, उपाध्यक्ष ओमदेवी मल्ल, पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटा, मन्त्रालयका सचिव गोपीनाथ मैनालीलगायतले सभामा बोलेका थिए ।

महासंघको हाल सदस्य सख्या ३२५ रहेको र सहयोगी सदस्यको सख्या १३ रहेको बताइएको छ । साधारण सभाले १० प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको छ । महासंघको शेयर पुँजी ३७ लाख २५ हजार रहेको छ । महासंघले आर्थिक बर्ष २०७५।७६ का लागि आठ करोड ८८ लाख ६१ हजार ६ सय ३२ रुपियाँको अनुमानित बजेट तयार गरेको छ ।

Advertisement

Advertisement

Advertisement