सरकारले तोकेको मूल्यमा उखु किन्न उद्योगी सहमत, किसानले ४५ दिनभित्र भुक्तानी पाउने

Advertisement

काठमाडौं । सरकारले निर्धारण गरेको मूल्यमा उखु खरिद गर्न चिनी उद्योगी तयार भएका छन्। यससँगै केही लिन भित्रै यस वर्षको क्रसिङ सिजन सुरु हुने भएको छ।

नेपाल उखु उत्पादक महासंघ र नेपाल चिनी उत्पादक महासंघबीच बुधबार महोत्तरीको बर्दिबासमा सम्पन्न बैठकले सरकारले तोकेको समर्थन मूल्य स्वीकार गर्दै मिल सञ्चालन गर्ने निर्णय भएको हो ।

उद्योगपति र किसान प्रतिनिधिबीच चारबुँदे सहमति भएको नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए।

आर्थिक वर्ष ०७५।७६ का लागि सरकारले तोकेको उखुको समर्थन मूल्य उद्योगीले स्वीकार गर्ने, उद्योगले उखु खरिद गरेको ४५ दिनभित्र किसानलाई भुक्तानी दिने, सस्तो ब्याजदरमा उद्योगीलाई ऋण दिलाउन किसानले सरकारसँग पहल गरिदिने र उत्पादित चिनी खरिदका लागि किसान र उद्योगी मिलेर सरकारसँग पहल गर्ने सम्झौता भएको छ।

सरकारले यसवर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ। तर, उद्योगीले सरकारले एकलौटी रूपमा मूल्य तय गरेको भन्दै विरोध गरेका थिए।

चालु वर्षका लागि उखु खरिदगर्दा उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा दिने र सरकारको तर्फबाट ६५ रुपैयाँ २८ पैसा अनुदान गरी प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा मूल्य किसानले पाउनेछन्। यो मूल्य गत सालकै हो।

किसानले यस वर्षका लागि सरकारले दिने अनुदानसहित प्रतिक्विन्टल पाँच सय ४५ रुपैयाँ माग गरेका थिए। तर, सरकारले किसानले माग गरेको मूल्यभन्दा ८ रुपैयाँ ४४ पैसा कम तोकेको थियो।

Advertisement

Advertisement

Advertisement