काठमाडौं । स्वावलम्बन लघुवित्तको १७ औं वार्षिक साधारण सभाले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस र ११ दशमलव ८४ प्रतिशत नगद गरी ३६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा ३४ करोड ३० लाख ४९ हजार ७ सय २५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७४÷७५ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
सभाले वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा बाँकी अवधिको लागि विष्णु प्रसाद त्रिपाठीलाई संचालकमा निर्बिरोध निर्वाचित गरेको छ ।
चालु आ.व.को मंसिर मसान्तसम्म ५७ जिल्लाका १२८ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख २८ हजार १ सय १९ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।