‘आयल निगमले जिम्मेवारी निर्वाह गर्न नसके बिकल्प सोच्नुपर्ने अवस्था आउन सक्छ’

आयल निगम

काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगमलाई प्रतिस्पर्धी नबने निजी क्षेत्रलाई समेत त्यस्तो अनुमति दिने चेतावनी दिएको छ ।

निगमको ४९औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) चन्द्रकुमार घिमिरेले निगमले व्यवसायिकता प्रदर्शन गर्न नसके पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई आह्वान गर्न सकिनेतर्फ निगम नेतृत्वलाई सचेत गराए।

nic-asia

वर्तमान आर्थिक बजारले सहज, सुलभ, किफायती र गुणस्तरीय वस्तुको आवश्यकता बोध गरेको यथार्यलाई स्वीकार गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारले दिएको भूमिका निर्वाह गर्न निगम व्यवस्थापन सक्षम हुनुपर्ने बताए। सचिव घिमिरेले प्रतिस्पर्धाकै लागि नेपाल टेलिकमको विकल्पमा निजी क्षेत्र कारोबारमा आएको बताए।

उनले भने, “निगम र नेतृत्वले जिम्मेवारी निर्वाह गर्न नसकेको अवस्थामा सरकारले बिकल्प सोच्नुपर्ने अवस्था आउन सक्छ । त्यो बिकल्प भनेको निगमको बजारलाई खुला गर्दै प्रतिस्पर्धी भित्रयाउनुपर्ने हुनसक्छ ।” यद्यपि, सचिव घिमिरेले सरकार तत्काल यस विषयमा प्रवेश नगरेको स्पष्ट पारे।    निगमको सञ्चालक समिति सदस्यसमेत रहेका उनले निगम र यससँग सरोकारभएका निकायले आफूले निर्वाह गर्नुपर्ने भूमिका सहजै सम्पन्न गर्न नसके प्रतिस्पर्धा अपरिहार्य हुने बताए।