पृथ्वी जयन्तीमा ओली भने– उहाँले एकीकरण नगरेका भए विश्वमानचित्रमा नेपालै रहन्थेन

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् ।

२९७औँ पृथ्वीजयन्तिका अवसरमा शुक्रबार दिएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालीको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असङ्ख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

ओलीले भनेका छन्, “उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले शुरु नगरेको भए वा शुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै सक्ने थिएन । राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन ।”

उनले थपेका छन्, “उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिक लगायतका अनेक विविधताका बीच मजबुत एकताका आधार तयार गर्नुभयो । अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ ।”

संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

उनले भनेका छन्, “पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुणताप्रति हामी सदैव गौरव गर्दछौँ ।” मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाज सुनिश्चित गरेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement