शिव श्री हाइड्रोपावरको आयोजना प्रभावित जल्लाका लागि आइपीओ बिक्री खुला

ipo

काठमाडौं  । शिव श्री हाइड्रोपावरले  शुक्रबार (आज) देखि १४ लाख ७६ हजार ४०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई बिक्री खुला गरेको हो ।

यो आइपीओमा एक सय रुपियाँलाई अंकित मूल्य मानेर न्युनतम ५० देखि अधिकतम सात हजार तीन सय ८० कित्तासम्म भर्न सकिने कम्पनीले जनाएको छ।

यसमा माघ ११ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले सिन्धुपाल्चोक जिल्लामा रहेका सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितलाई सेयर जारी गरेपछि फेरि सर्वसाधारण र कर्मचारीलाई गरी कुल २२ लाख १४ हजार ६०० कित्ता सेयर आइपीओ निष्कासन गरिने कम्पनीले जानकारी दिएको छ ।

स्थानीयको आइपीओमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका आयोजना प्रभावित बासिन्दाले मात्र आवेदन दिन सक्नेछन् ।

यसैगरी, शिव श्री हाइड्रोपावरको भोटेकोशी गाँउपाललिका कार्यालयबाट पनि सेयर भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले शिव श्रीको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ छ । स्थानीयलाई आइपीओ बिक्री गरेपछि चुक्ता पुँजी १ अर्ब २५ करोड ४९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।