पेट्रोलले होइन बिजुलीले चल्ने गाडि ल्याउः महासेठ, २०७५–८५ लाई निर्माण दशक बनाऔंः व्यवसायी

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अब पेट्रोलियम पदार्थबाट चल्ने गाडि नभई विद्युतीय गाडिहरु आयात गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नाडा अटोमोवाइल एशोसियशन अफ नेपालको शुक्रबार आयोजित कार्यक्रममा उनले विद्युतीय गाडिहरुको आयातमा सरकारले भन्सार छुट दिएकाले अब अब विद्युतीय सवारी साधनहरुको आयातलाई प्राथमिकता दिन सल्लाह दिए । बाताबरण संरक्षण र व्यापार घाटा कम गर्नका लागि पनि यस्ता सवारी साधनको आयात जरुरी रहेको भन्दै महासेठले सोही क्रममा सरकारले तीनसय विद्युतीय बस पनि किन्न प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

सरकारले सवारी साधनलाई विलासिताको वस्तुको रुपमा हेर्न छोडेको उनको भनाई छ । मन्त्री महासेठले जति महंगो गाडि आयात गरिए पनि सरकारले रोक भने नलगाउने बताए । उनले मोविलिटीविना देश विकास हुन सक्दैन भन्दै प्रदेश, केन्द्र र स्थानीय सरकारले मिलेर हजारौं किलोमिटर सडक बनाउने, रेलमार्ग निर्माण गर्ने, एक लेनभन्दा बढिको मात्रै सडक बनाउने काम अघि बढाएको बताए ।

सडक बनाउः व्यवसायी
नाडाका अध्यक्ष शम्भु दाहालले सरकार र राजनीतिक दलहरुले आर्थिक संवृद्धिको कुरा गर्ने गरेको र त्यस्तो संवृद्धि सडक पूर्वाधार, कृषि, पर्यटन, औद्योगिक विकास केबाट गर्ने हो ? त्यो कुरामा स्पष्ट हुन नसकेको बताए ।

उनले २०७५ देखि २०८५ सम्मलाई मुलुक निर्माण दिवस दशकको रुपमा मनाउन पनि सल्लाह दिए । दाहालले नेपालमा व्यवसायिक लागत धेरै भएकाले डुइङ बिजनेश कष्ट घटाउन, सवारी साधनमा लगाइएको चर्को कर कम गर्न, सवारी साधनलाई बिलासिताको वस्तु नठान्न आग्रह गरे ।

नाडाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा सडक पूर्वाधार विकासको स्थिति दयनीय रहेको भन्दै सडक नबनाई आर्थिक विकासको कुरा पूरा गर्न नसकिने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यउक्ष पशुपति मुरारकाले उद्योगधन्दाको विकासमा सरकारले सहयोग र संरक्षण गर्न नसकेको भन्दै सवारी साधनलाई सुविधाको वस्तु ठान्नु र सडकको मर्मत तथा विकासमा ध्यान नदिनु गलत भएको बताए ।

Advertisement

Advertisement

Advertisement