‘गोविन्द केसीलाई बोक्या भएर विवेकशील साझा छिन्नभिन्न भयो’

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता एवं प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालक समितिका सचिव रामकुमार अधिकारीले गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लवमा आइतबार उनले भने, ‘डाक्टर केसीले राख्नुभएको ६ बुँदे मागमा स्वास्थ्य क्षेत्रबारे केही माग छैन् । उहाँले प्रष्टसँग राजनीतिक माग राख्नुभएको छ ।’ प्रदेश नम्बर ३ का सदस्यसमेत रहेका अधिकारीले केसी सरकारी जागिरे भएकोले उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्यो भनेर माग राखेको पनि सुनाए ।

उनले थपे, ‘उहाँ पनि सरकारी जागिरे हो नि । उहाँले हत्यारा पत्ता लगाए भैगो नि त ।’ डाक्टर केसीले विदेशीको बुई चढेर द्वन्द्वकालको मुद्दा उठाएको अधिकारीले आरोप लगाए । उनले डाक्टर केसी अहिले देशी तथा विदेशी शक्तिको पञ्जामा परेको आरोप लगाए । उनले भने, ‘गोविन्द केसीलाई साझा विवेकशीलका नेताहरुले बोकेका थिए । तर, अपराध वा पाप लागेको छ । साझा विवेकशील पार्टी छिन्न भिन्न भएको छ ।’

गोविन्द केसीलाई अधिकारीले बधाईसमेत दिए । अधिकारीले भने, ‘म गोविन्द केसीलाई बधाई दिन चाहन्छु । अब मनमोहन मेडिकल कलेज काठमाडौं आउँदैन् । तपाईहरु सफल हुनुभयो । हामी त मर्यौं । मर्यौं । दुई अर्ब ऋण छ । बिक्री भएर ऋण तिर्न पुगे त तिरौंला नभए जेलमा बास होला ।’

Advertisement

Advertisement

Advertisement