सरकारी कर्मचारीले पेन्सन पाउनका लागि अब आफूले पनि रकम जम्मा गर्नुपर्ने

Advertisement

काठमाडौं। सरकारी सेवामा कार्यरत कर्मचारीले अब अवकाशपछिको निवृत्तिभरण (पेन्सन) पाउनका लागि आफूले पनि निवृत्तिभरण कोषमा रकम जम्मा गर्नुपर्ने भएको छ । सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण लागू गर्नका लागि बन्न लागेको निवृत्तिभरण कोष सम्बन्धी विधेयक आइतबार प्रतिनिधिसभाबाट पारित भएबाट यस्तो व्यवस्था हुन लागेको हो ।

२०७५ साउन १ गतेपछि सेवामा प्रवेश गरेका सरकारी कर्मचारीहरुका लागि योगदानमा आधारित निवृत्तिभरण योजना ल्याउन लागेको हो । २०७५ साउन १ भन्दा अघि सेवामा प्रवेश गरेका कर्मचारीका लागि भने यो व्यवस्था लागू हुने छैन् ।

प्रतिनिधिसभाबाट आइतबार पारित विधेयक अब राष्ट्रियसभामा पेस हुनेछ। राष्ट्रियसभाबाट पनि पारित भई राजपत्रमा सूचना प्रकाशन भएपछि विधेयक कार्यान्वयनमा आउनेछ।

विधेयक कार्यान्वयनसँगै कोष स्थापनाको बाटो खुल्नेछ।
कोषको स्थापना पश्चात हाल पेन्सन पाइरहेका कर्मचारी तथा शिक्षकहरुले समेत सोही कोषबाट पेन्सन पाउँनेछन्।

पारित विधेयक अनुसार निजामती सेवातर्फका कर्मचारी, स्वास्थ्य र संसद् सेवाका कर्मचारी, सैनिक बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेवा र विशेष सेवाका कर्मचारीले अब पेन्सन पाउन आफूले पनि कोषमा रकम जम्मा गर्नुपर्नेछ।

कोषको स्थापनार्थ कर्मचारीको मासिक तलबको ६ प्रतिशत रकम कोषमा जम्मा हुनेछ भने सोही बराबरको रकम कोषमा सरकारका तर्फबाट जम्मा हुनेछ। कर्मचारी असाधारण बिदा, बेलतलवी बिदामा बसेको वा कुनै कारणले निलम्बन भएको अवस्थामा कोष कट्टा गरिने छैन। तर, निलम्बन फुकुवा भएको हकमा भने एकै पटक कोष कट्टा हुनेछ।

कोषमा सबै कर्मचारीको व्यक्तिगत खाता हुने र सो खातामा कर्मचारी आफूले जम्मा गरेको रकम, सरकारले थप गरेको रकम तथा लगानीबाट प्राप्त प्रतिशतको समेत हिसाब संलग्न हुनेछ।

२० वर्ष वा सोभन्दा बढी सेवा गरी अवकाश पाएका कर्मचारीले कोषबाट मासिक रूपमा पेन्सन पाउने व्यवस्था विधेयकमा उल्लेख छ। जसका लागि जम्मा सेवा गरेको वर्ष र सेवाका क्रममा अन्तिम महिनाको तलब गुणा हुनेछ। उक्त योगफललाई ५० ले भाग लाग्नेछ। यसरी आउने रकम कर्मचारीले मासिक रूपमा पेन्सन बापत दिइनेछ।

प्रत्येक तीन वर्ष पुगेपछि खाइपाई आएको रकममा दश प्रतिशतले वृद्धि हुने व्यवस्था गरिएको छ ।

यदि सेवा अवधि पूरा नहुँदै अवकाश लिएमा वा कुनै कारणले सेवामा नरहेमा कर्मचारीले कोषमा जम्मा भएको आफ्नो खाताको रकम भुक्तानी पाउने व्यवस्था गरिएको छ।

पेन्सनका लागि सेवा अवधि पूरा गरेको कर्मचारीको पेन्सन प्राप्त हुनअघि वा भएपछि मृत्यु भएमा पति वा पत्नीलाई पेन्सनको आधा रकम दिइनेछ।

यसरी रकम दिँदा व्याज र मुनाफा समेत हिसाब हुनेछ। सेवाकै क्रममा कर्मचारीको मृत्यु भएमा यस्तो रकम इच्छ्याइएको व्यक्तिले प्राप्त गर्ने व्यवस्था गरिएको छ।

Advertisement

Advertisement

Advertisement