मेलम्चीको ठेकेदारले पुरा गर्न नसकिने शर्तसहित पत्र लेखेपछि ठेक्का तोड्ने तयारीमा सरकार

Advertisement

काठमाडौं । नववर्ष मनाएर काममा फर्कने बाचा गरेको मेलम्चीको ठेकेदार कम्पनीले शर्त माथी शर्त तेर्साएर पत्र पठाएसँगै मेलम्ची आयोजनाको काम सम्पन्न हुनेमा अन्योल बढेको छ ।

इटली फर्किएपछि केही समय चुपचाप बसेको ठेकेदार कम्पनीले काममा फर्कनका लागि नर्या शर्त सहितको पत्र गत शुक्रबार मेलम्ची खानेपानी विकास बोर्डलाई पठाएसँगै आयोजनाको निर्माणमा थप अन्योल बढेको हो ।

ठेकेदार कम्पनी सिएमसीले गत शुक्रबार पत्र पठाएर सर्तमाथि सर्त थोपारेर पत्र पठाएको खानेपानी सचिव गजेन्द्र ठाकुरले बताए । ‘ठेकेदार कम्पनीले एकपछि अर्काै गर्दै नाजायज माग गरिरहेको छ,’ उनले भने,‘ठेकेदार कम्पनीले दावी गरेका जति सबै काम पूरा गर्न सकिने खालका छैनन। ठेकेदारको मागको विषयमा के निर्णय गर्ने निर्णय एक/दुई दिनभित्रै टुंगो लगाउनेछौं।’

‘सरकारले तत्कालै ठेकेदारको जफत गरेको सम्पूर्ण धरौटी रकम तत्कालै फिर्ता गर्नुपर्ने, ठेकेदारले पाउनुपर्ने सम्पूर्ण रकम काम पूर्व नै पाउनुपर्ने, शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउनुपर्ने, बाँकी कामको पहिल्यै भुक्तानी गर्नेुपर्ने लगायतका माग समावेश गरिएका छन्,’ पत्र उध्दृत गर्दै सचिव ठाकुरले भने, ‘ठेकेदार कम्पनीले वार्ता गर्ने भए बेलायत वा सिंगापुर आउन अनुरोध गरेको छ ।’

उनका अनुसार ठेकेदार कम्पनीले तेस्रोमुलुकमा मात्रै वार्ता गर्न सकिने दाबी गरेको छ । ‘शान्ति सुरक्षाको माग गर्दै ठेकेदार कम्पनीले बेलायत वा सिंगापुरमा वार्ता गर्न माग गरेको छ,’ सचिव ठाकुरले भने, ‘ठेकेदार कम्पनीको माग सरसर्ती हेर्दा पूरा गर्न सकिएला जस्तो छैन । त्यसैले एक दुई दिनभित्रै सिएमसीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाउनेछौं ।’ उनले १४ दिने सूचना निकालेर ठेक्का रद्द गर्ने तयारी गरिरहेको बताए ।

मेलम्ची आयोजनाले अहिलेका समयसीमालाई पछि सार्दै आगामी मार्चमा उपत्यकामा पानी ल्याउने लक्ष्य तय गरेको छ । तर, पछिल्लो विकासक्रमले त्यसबेला पनि उपत्यकामा मेलम्चीको पानी भित्रिनेमा अन्योलता देखिएको छ ।

Advertisement

Advertisement

Advertisement