बजेटभन्दा बाहिरबाट माग भएको थप १ खर्ब दिइँदैनः अर्थमन्त्री

Advertisement

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले वार्षिक बजेट कार्यक्रमभन्दा बाहिर गएर अर्थ मन्त्रालयले बजेट दिन नसक्ने स्पष्ट पारेका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खतिवडाले बजेट कार्यक्रभन्दा बाहिर गएर बजेट उपलब्ध गराउनु बजेट अनुशासनको विपरीत भएको भन्दै यस्तो मागलाई मन्त्रालयले स्वीकार नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गरेको बैठकमा अर्थमन्त्रीले विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूले भएको बजेट खर्च नगरी थप बजेट माग गर्ने परिपाटी बढेको भन्दै यस्तो मागअनुसार अर्थ मन्त्रालयले पैसा नदिने स्पष्ट पारे

उनले भने, ‘ अहिले झन्डै १ खर्ब रूपियाँ थप बजेट माग भएको छ, त्यो दिनु हुँदैन। त्यसरी बजेट दिने भनेको बजेट अनुशासन विपरीत हो ।’

तर उनले मन्त्रालयहरूले आफ्नो बजेट एउटा कार्यक्रमबाट रकमान्तर गरि अर्को कार्यक्रममा खर्च गर्न सक्ने बताएका छन् । दिइएको बजेट खर्च नगरी थप बजेट माग भइरहेको भन्दै यस्तो प्रवृति गलत भएको बताए ।

खतिवडाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २९ प्रतिशत मात्रै खर्च भएको भन्दै यो अवस्थाले सोचेअनुसारको विकासमा मुलुकलाई नपुर्यााउने उल्लेख गरे। ‘कम्तीमा ३५ प्रतिशत खर्च हुनुपर्नेमा त्यो हुन सकेन, अहिले नै हामी भन्न सक्छौं दोस्रो त्रैमासिक समीक्षा पनि राम्रो हुँदैन,’ उनले भने।

मन्त्री खतिवडाले कतिपय आयोजनामा भौतिक प्रगति भएपनि वित्तीय प्रगति नभएको भन्दै बिल भुक्तानीमा पनि समस्या रहेको औंल्याए। ‘काम भएको ठाउँमा पनि भुक्तानी नहुने अवस्था आउनु राम्रो होइन जसका लागि लेखाका कर्मचारी र सम्बन्धित मन्त्रालयका सचिवले ध्यान दिनुपर्छ,’ उनले भने ।

खतिवडाले समयमै काम भएका आयोजनाको भूक्तानीमा ढिलाइ भए त्यसले असारे विकासलाई प्रश्रय दिने भन्दै त्यो प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।

Advertisement

Advertisement

Advertisement