काठमाडौं । इप्पान र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेजकोे संयुक्त आयोजना हुन लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि सुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा शुक्रबार बिहान ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको उद्घघाट्न गर्ने भएका छन् ।
एक्स्पोमा सहभागि हुन ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टल बुकिगं गरेका छन् । एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको छ । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रा. लि. ले गर्ने छ । एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने छ ।
जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन गइरहेको एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी लि. तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् ।
चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुने आयोजकले जनाएका छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ ।
यसै गरी एक्स्पोमा सहभागि भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । एक्स्पोमा हाइड्रो म्यापको डेस्कटप भर्सन पनि सार्वजनिक हुने भएको छ ।