‘बाहिरबाट नेपालमा धेरै ल्याएको छु, यहाँबाट एक डलर पनि लगेको छैन्’

Advertisement

कामाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष उपेन्द्र महतोले विदेशमा लुकाउनका लागि आफूले नेपालबाट एक डलर पनि नलगेको स्पष्टिकरण दिएका छन् ।

खोज पत्रकारिता केन्द्रको केही दिन अघिको नेपालिक्समा विदेशमा अर्बौँ रुपियाँ लुकाउने नेपालीमध्येको सूचीमा आफ्नो नाम पनि आएपछि महतोले नेपालबाट विदेशमा पैसा नलगेको बरुविदेशमै कमाइ गरेको पैसा त्यतै जम्मा गरेको जिकिर गरेका हुन् ।

महतोले आफू लामो समयदेखि विदेशमा रहेका नेपालीको लागनी मातृभूमिमा ल्याउने काममा सक्रिय रहेको बताउँदै आफूले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको बताएका छन् ।

‘मैले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको छु’, महतोले भने, ‘मैले नेपालमा जे÷जति लगानी गरेको छु, नेपालीकै नाताले लगानी गरेको छु । नेपालमा कुनै पनि परियोजनामा मैले विदेशीको नाताले लगानी गरेको छैन ।’

महतोले आफूले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट भने एक डलर पनि बाहिर नलगेको दाबी गरे । महतोले भनेका छन्, ‘म अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा छु । म व्यवसायमा भएको हुनाले मेरो परिवार खासगरेर भाई डा. विरेन्द्र प्रसाद महतो र बहिनी जुली कुमारी महतोको नाम जोडिदिँदा मलाई दुःख लागेको छ ।’

Advertisement

Advertisement

Advertisement