ओली भन्छन्— नेकपा बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा पार्टी बुझ्नेलाई श्रीखण्ड भएको बताएका छन्। नेकपाका अध्यक्षसमेत रहेका ओलीले कांग्रेसका पूर्वसांसद् तीर्थ भुषाललाई पार्टी प्रवेश गराउँदै शनिबार यस्तो बताएका हुन्।

नेकपा खुइलियो भन्नेहरुको हेर्ने चश्मा नै दोषी भएको उनको भनाइ थियो। उनले दोष लगाउनुअघि चश्मा सफा गरेर मात्र हेर्न आग्रहसमेत गरेका छन्।

‘पार्टी खुइलियो भन्नेहरु पनि छन्। चश्मा फोहोर भयो भने राम्रो देखिदैन। पहिला चश्मा सफा गर्न आग्रह गर्छु’, अध्यक्ष ओलीले भने, ‘पार्टी खुइलिएको छैन। बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड हो। नेकपा श्रीखण्ड नै हो भनेर थाहा पाउन सबैलाई म आग्रह गर्छु।’

नेकपाको दौडमा संख्या थपिदै गएको र जनताको विश्वाससमेत बढ्दै गएको उनको भनाइ छ। ‘दौडमा संख्या थपिदैछ। जनताको विश्वास बढ्दै छ’, ओलीले भने, ‘निष्ठापूर्वक अगाडि बढौं, सबै राजनीतिक दल र जनताका लागि काम गरौं।’

प्रधानमन्त्री ओलीले हरेक दिन सरकार नयाँ काम गर्दै एक कदम अगाडि बढेको पनि दाबी गरे। ‘सरकार हरेक दिन एक कदम अगाडि बढेको छ। अगाडि बढ्योकी बढेन हेर्नुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘हरेक दिन नयाँनयाँ काम गरेका छौँ।’

उनले अब कर्मचारी समायोजनअघि देखिएका समस्या समाधान भएको बताए। ‘समायोजनसम्म कर्मचारी पुग्दा अनेक व्यावधान र कठिनाई आए’, उनले भने, ’ अब ति पार भए।’

Advertisement

Advertisement

Advertisement