मन्त्री र पूर्वमन्त्रीले डा. केसीलाई ‘अपराधी’ भन्दै तथानाम गाली गरे

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाका बहालवाला मन्त्री र पूर्वमन्त्री स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्ष गर्दै आएका डा. गोविन्द केसीलाई अपराधिको संज्ञा दिँदै तथानाम गाली गर्ने काम गरेका छन् ।

रिपोर्टर्स क्लवमा बोल्न आएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादव र पूर्वस्वास्थ्यमन्त्री वंशिधर मिश्रले केसीप्रति आक्रामक हुँदै विभिन्न आरोपसमेत लगाए । राज्यमन्त्री यादवले अनशनरत डा. केसीका सबै माग पूरा भएको जिकिर गरेका छन् । रिपोर्टर्स क्लवमा आइतबार उनले भने, ‘डाक्टर केसीले उठाउनुभएको माग विद्येयकमा लगभग सबै समेटिएका छन् ।’

यादवले आफू पनि संसदको स्वास्थ्य तथा शिक्षा समितिको सदस्य भएको नाताले र मन्त्रालयको तर्फबाट पनि आफू नै समितिको बैठकमा सहभागी भएको सुनाए । उनले भने, ‘यसमा जसरी उहाँहरुले भन्नुभयो एउटै कुरा, मात्रै एउटा कुरा, त्यो के छ अब उपत्यकाबाहिर खोल्ने एउटा कुरा आयो । फेरि दोस्रो कुरा के आयो भने ५ भन्दा बढि नदिने, र तेस्रो कुरा के आयो भने जो सँग आफ्नो मेडिकल कलेज छैन, त्यसलाई दिन नपाउने । भनाईको मतलव के हो भने जम्मा दुई वटा भयो । एउटा केएमसी र अर्को टियु । जो संग यसअगावै पाँचभन्दा बढि कलेज छन् । यसको मतलव यो भयो कि बाहिर नखोल्नुहोस् ।’

राज्यमन्त्री यादवले भने, ‘जबसम्म मेडिकल युनिभर्सिटी हुँदैन्, काठमाडौंमा नखोल्नेबारे सबै सहमति भए । यो ठिक छ । तर, काठमाडौं बाहिरको हकमा, लेटर अफ इन्टेन्ट दिएको र जसको तीन वर्ष पढाएको पूरा भएको छ । यो बाहेक अरु के भएन त ? सरकारले समय पनि माग्न नपाउने ? तपाई हामीलाई केही दिन समय दिनुहोस, बरु पाँच, ६ वटा छन्, त्यसलाई पनि झार्छौं हामी । मेडिकल युनिभर्सिटी बनाउनको लागि समय चाहिन्छ । जसरी बिपीकेएच धरान छ, जसलाई बनाउन मिल्छ ।’

मन्त्री यादवले सरकारको विरोध गर्नेहरुलेमात्रै गोविन्द केसीको माग पूरा नभएको भनेर यसलाई मुद्दा बनाएको आरोप लगाए ।

सत्तारुढ दल नेकपाका नेता एवं पूर्व स्वास्थ्यमन्त्री वंशिधर मिश्रले डाक्टर गोविन्द केसीले उठाएका ९९ प्रतिशत माग पूरा भइसकेको दाबी गरे । उनले भने, ‘उहाँले दिपावली मनाउनुपर्दथ्यो, तर अनशन बस्नुभएको छ । मनमोहन मेडिकल कलेज अब काठमाडौंमा खुल्दैन । उहाँको मुख्य माग नै त्यही थियो । त्यो अहिले पूरा भएको छ ।’

डा. केसीले आफूहरुलाई नैतिकताको पाठ सिकाउन नमिल्ने पनि मिश्रले जिकिर गरे । उनले थपे, ‘उहाँले नैतिकताको पाठ सिकाउनुभन्दा पनि पहिले आफैले सिक्नुपर्छ । उहाँ सरकारी कर्मचारी भएर पनि राजनीति गरिरहनुभएको छ । प्राध्यापक पद नछोड्ने अनि पढाउन पनि नजाने ? नैतिकता त उहाँले सिक्नुपर्छ ? अनि अपरेशन पनि नगर्ने ?’

राजनीति नै गर्न मन भए केसीले राजिनामा दिएर खुल्ला राजनीतिमा आउन पनि मिश्रले चेतावनी दिए । उनले डाक्टर केसीसँग भएको सम्झौता पालना गर्छु भनेर सरकारले नभनेको बरु विद्येयक पास गराउन पहल गर्छु भनेर लेखिएको पनि बताए ।

नेता मिश्रले भने, ‘सरकारले विद्येयक पास गर्छु भनेर सम्झौता लेखिएको छैन । बरु, विद्येयक पास गराउन पहल गर्छु भनेको छ । म सम्झौतापत्र हेर्न आग्रह गर्छु ।’ मिश्रले गोविन्द केसीको ज्यान बचाउन उनकै समर्थकहरुले नचाहेको पनि गम्भिर आरोप लगाए । उनले भने, ‘उहाँहरुमा लचकता छैन । सरकारले हेलिकप्टरमार्फत उहाँलाई काठमाडौं ल्याएर उपचार गरिरहेको छ । अहिले आईसियुमा उपचार भैरहेको छ ।’ मिश्रले केसीलाई अपराधीको संज्ञा समेत दिए ।

फरक प्रसंगमा मिश्रले डाक्टर केसीको विरुद्धमा अनशन बस्ने विजय थापालाई आफूले नचिनेको जिकिर गरे । उनले भने, ‘उहाँ पनि अनशन बस्नुभएको छ भन्ने कुरा मिडियामार्फत सुनेको छु । तर म चिन्दिन् । उहाँका माग पनि सुनाई हुनुपर्छ ।’

Advertisement

Advertisement

Advertisement