हालको पाँच अर्ब डलरको वैदेशिक लगानीलाई बढाएर १७ अर्ब डलर पुर्याउनुपर्ने

Advertisement

काठमाडौं । चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झाङ सेनफेङले दुबै मुलुकका नेताहरुले संयुक्तरुपमा वेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनालाई अगाडी बढाउनुपर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघ र सीसीपीआईटीको संयुक्त आयोजनामा आयोजित ‘नेपाल चीन व्यापारिक फोरममा उनले दुई देशबीच रेल्वे, पारवहन, ऊर्जा, पर्यटन क्षेत्रमा विगतमा गरेका सहमती, समझदारी कार्यान्वयनको सन्दर्भमा आफ्नो नेतृत्वमा करिव ५० सदस्यीय प्रतिनिधि मण्डल नेपाल भ्रमण गरेको बताए ।

नेपालका प्रधानमन्त्रीको गत वर्षको चीन भ्रमणको स्मरण गर्दै सेनफेङले चीन सबैभन्दा ठूलो व्यापार तथा लगानी प्रवद्र्धन गर्ने संस्थाको हैसियतले सीसीपीआईटीले चीन–नेपाल आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको बताए ।

उनले यस फोरमलाई बढी प्रभावकारी बनाउन तीन सुझाव दिँदै द्विपक्षीय व्यापारको दायरालाई निरन्तर रुपमा बढाउनु पर्ने, लगानी सहयोगलाई अझ विस्तृत गर्नुपर्ने र व्यापार प्रवद्र्धन संस्थालाई अझ बढी सक्रिय भूमिका खेल्न दिनुपर्ने बताए ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा पूर्वाधार, जलविद्युत र हल्का उत्पादन उद्योगहरु लगायत सेवा क्षेत्रका उद्योगहरुमा लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको बताए । उनले मुलुकको बैदेशिक लगानी भित्राउन हाल भएको औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन, वौद्धिक सम्पत्ति सम्बन्धी कानुन, एण्टी डम्पिङ कानुन, आर्थिक क्षेत्रसँग सम्बन्धित अन्य कानुनहरुको संशोधन भई लगानीको लागि अनुकूल वातावरण बनेको बताए ।

उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले नेपालको चीनसँगको व्यापारले दोस्रो स्थान ओगटेको र सरकारी नीति नियम व्यापार घाटा कम गर्नेतर्फ परिलक्षित रहेको भन्दै करिव दुई महिनाभित्रमा औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन संसदबाट पारित भएर औद्योगिक लगानी अनुकूल वातावरण सिर्जना हुने, एकद्वार केन्द्रबाट सेवा दिन पूर्वाधार तयार भइसकेको बताए ।

उनले नेपालमा जलविद्युत, खानी, निर्माण, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि, र खाद्य प्रशोधन आदि क्षेत्रमा लगानी प्रचुरतम सम्भावना रहेको हुँदा चिनिया लगानी यसतर्फ आकर्षित हुनुपर्ने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै परिसंघका पूर्वाधार सेलका संयोजक विरेन्द्रराज पाण्डेले नेपालमा व्यवसायिक अवसर पर्याप्त रहेको बताउँदै हाल ५ अर्ब डलर बराबरको लगानी भइरहेकोमा त्यसलाई बढाई १७ अर्ब डलर बराबरको लगानी हुनुपर्ने बताए ।

उनले पूर्वाधार क्षेत्रमा विगतमा भएका कठीनाई हटाउने प्रयास स्वरुप परिसंघले दुइवटा पूर्वाधार सम्मेलन गरिसकेको र निकट भविष्यमा तेस्रो पूर्वाधार सम्मेलन गर्ने योजना सुनाए । कार्यक्रममा चीन र नेपालका उद्यमी व्यवसायीबीच बीटूबी बैठक भएको थियो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरले यो फोरमले चुनौतिलाई अवसरमा बदल्ने भन्दै एकातर्फ तीव्र विकास गरिरहेको भारत र अर्कोतर्फ आर्थिक पावर हाउसमा विकास भइरहेको चीनबाट यस क्षेत्रका जनताले र नेपालले खास गरी फाइदा लिन पर्याप्त सम्भावना रहेको बताए ।

Advertisement

Advertisement

Advertisement