तातोपानी नाका खुलाउने काम तीव्र गतिमा हुँदै

Advertisement

चौतारा  । भूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल तथा सडकको निर्माण तथा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।

चार वर्षसम्म बन्द रहेको नाका सन् २०१९ को मे १ तारिखमा खुलाई हस्तान्तरण गरिने कार्र्यक्रम रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव रविशङ्कर सैँजुले जानकारी दिए । विसं २०७२ वैशाखको भूकम्प र २०७३ असारको भोटेकोशी बाढीले क्षतविक्षत बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकखण्डको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । आगामी मे १ तारिखमा नाका खुलाउने उद्देश्यका साथ दैनिक करीब एक हजार कामदारबाट युद्धस्तरमा काम भइरहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

भूकम्पले क्षतिग्रस्त मितेरी पुल साविक आठ मिटर चौडाइलाई बढाएर १२ मिटर चौडाइमा निर्माण भइरहेको छ । भोटेकोशीको कटान र पहिरोले क्षतिग्रस्त सडकको झ्याले, डामलाङ, दशकिलो, तातोपानी, कोदारी र लिपिङसहित सात स्थानमा तलबाट तार जालीसहित गाह्रो उठाइने र माथिबाट ठाउँठाउँमा भित्ता काट्ने काम भइरहेको दोभाषे मिलन शेर्पाले बताए  । काठमाडौंबाट सबैभन्दा नजिकको नाका तातोपानी ११४ किलोमिटरको दूरीमा पर्दछ ।

Advertisement

Advertisement

Advertisement