पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै ठिनी

Advertisement

मुस्ताङ । मुस्ताङ पझोङ गाउँपालिका–५ स्थित ठिनीमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ ।

निलगिरि हिमालको फेदीमा रहेको ठिनीमा घरवास होमस्टे सञ्चालनमा आएपछि त्यहाँ पर्यटकको चहलपहल बढ्न थालेको हो । ठिनीका १२ घरमा घरवास सञ्चालन भएको छ । घरवास सञ्चालनमा आएपछि ठिनी अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

विसं २०७४ भदौमा पाँच घरबाट शुरु गरिएको घरवासमा पर्यटकको चाप बढेपछि अहिले थप सातवटा घरमा विस्तार गरिएको थकाली सामुदायिक होमस्टे सञ्चालक समितिका सचिव जुमा थकालीले बताए ।

‘असोजयता मात्रै एक हजार भन्दा बढी पर्यटक आएका छन्’, उनले  भने, “घरवासले गाउँको पर्यटन विकाससँगै समुदायको आम्दानीको स्रोत पनि बढाएको छ ।” ठिनीको घरवासमा एक दिनमा ५० पर्यटक वास बस्न सकिन्छ । रु एक हजार खर्च गरेर एक छाक खान र वास बस्न सकिन्छ ।

ठिनीमा एक सय घरधुरी थकाली समुदायको बसोवास छ । ढुङ्गा, माटो र काठबाट बनेका सेतो रङ्ले पोतिएका, छतमा दाउरा राखिएका गुजुमुज्ज घर रहेको ठिनीबाट धौलागिरि र निलगिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।

तत्कालीन राजा ठोकरचेनले शासन चलाएको झरपझोङ किल्लाको भग्नावशेस, दरबार, बौद्ध धर्मगुरु पद्यसम्भले तपस्या गरेको कुछप तेरेङ्गा गुम्बा, रमणीय ढुब्बा ताल, हिमचितुवाको वासस्थान रहेको नमखु लेक र थकाली संस्कृति ठिनीको थप आकर्षण हो ।

करीब सय मिटर चौडाई, चार सय मिटर लामो र दश मिटर गहिरो ढुम्बा तालमा बिहानीपख निलगिरिको छायाँ टलक्क टल्कन्छ । गाउँ नजिकैको बारीको हरियाली, स्याउ बगैँचा र पृष्ठभूमिमा देखिने जोमसोम बजारले पर्यटक लोभ्याउँछ, यहाँ । त्यसको नजिकै हिउँ चितुवा गुफा रहेको छ ।

जातीय पहिचान झल्कने सामग्री सङ्कलन गरी थकाली सङ्ग्रहालय स्थापना गरिएको घरवास सञ्चालनको नेतृत्व गरेका जनमुक्ति युवा कल्बका अध्यक्ष नरेन्द्र थकालीले बताए । ठिनी गाउँदेखि तीन घण्टा उकालो हिँडेपछि तीन हजार ७५० मिटर उचाइमा रहेको यारुझुमा भ्यू टावर पुग्न सकिन्छ ।

यहाँबाट निलगिरि, धौलागिरि, मेसोकान्तो हिमाल, तिलिचो पिक र नागा पहाडका साथै कालीगण्डकी भ्यालीका गाउँ, जोमसोम, मार्फा, स्याङ, कागबेनी, मुक्तिनाथदेखि कोरलासम्मको दृष्य अवलोकन गर्न सकिन्छ ।

सडक पुगेको ठिनी गाउँ मुक्तिनाथ–नारच्याङ वैकल्पिक र जोमसोम–तिलिचो पदमार्गमा समेटिएको छ । ठिनी भएर संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जाने पदमार्ग पनि सञ्चालन आएको छ ।

Advertisement

Advertisement

Advertisement