करीब २० हजार कर्मचारी माग गर्दैछौंः लालबाबु

Advertisement

काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताएका छन् । नेपाल यातायात महिला चालक समूहको कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै यही माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताए ।

महिला सशक्तीकरण र उनीहरुको आत्मनिर्भरताका लागि उक्त समूहले विभिन्न सीपमूलक तालीम सञ्चालन गरेकामा त्यसको सराहना गर्दै उनले भने, “मुलुकमा पूर्वाधार विकास तथा उत्पादन क्षेत्रमा लगानी गरेर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ ।

पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले व्यावसायिक सीपका माध्यमबाट दक्ष जनशक्ति उत्पादन तथा महिलाको आर्थिक रुपान्तरणमा भूमिका निर्वाह गरेको उक्त संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले समाजमा विद्यमान गरिबी, पछौटेपनको अन्त्य गर्न उद्यमशीलताको खाँचो रहेको बताउँदै महिला वर्गको आर्थिक पहुँच नभएका कारण समाजमा हिंसा तथा विभेद् हुने गरेको विचार व्यक्त गरे ।

अधिकारकर्मी तुलसी थापाले मुलुकको विकास र समृद्धिका लागि जनताको आम्दानी वृद्धि भई उनीहरुको जीवनस्तर सदृढ हुनुपर्ने विचार व्यक्त गर्नुभयो । समूहका अध्यक्ष मिना चन्द ठकुरीले करीब छ वर्ष अगाडि स्थापना गरिएको संस्थाले महिलालाई ब्यूटीपार्लर, फेसन डिजाइन, सिलाइबुनाइ, सवारी चालकलगायत विधामा सीप उपलब्ध गराउँदै आएको बताए ।

Advertisement

Advertisement

Advertisement