टाटाका कमसल गाडिहरु खरिदमा भएको अनियमितताको विषय अख्तियारले छानबिन थाल्यो

Advertisement

रुपन्देही । प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ। सार्वजनिक लेखा समितिको उपसमिति मार्फत छानबिन गरिरहेको बेला अख्तिायारले गाडी खरिदमा भएको अनियमितता बारे छानबिन थालेको हो।

प्रदेशसभाले खरिद गरेको टाटा स्ट्रोम ११ र अन्य कम्पनीका २ गरि १३ वटा गाडी खरिदमा भएको भनिएको अनियमितताबारे अख्तियारले छानबिन थालेको हो। टाटाको गाडी खरिदमा मन्त्रालय र प्रदेशसभाकै बीचमा ठूलो रकम अन्तर देखिएको छ। बजार मूल्य भन्दा महंगो भएको तथा खरिद प्रक्रियामा कमजोरी भएको भनिएपछि अख्तियारले छानबिन सुरु गरेको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार प्रदेशसभाले खरिद गरेका गाडीका विषयमा छानबिन सुरु गरिएको हो। उनले गाडी खरिद प्रक्रिया, गाडीको वास्तविक मूल्य लगायतका विषयमा छानबिन थालेको बताए।

अख्तियारले भने प्रदेशसभाको गाडी खरिदका विषयमा मात्रै छानबिन थालेको हो। सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले भने प्रदेश सरकार र प्रदेशसभाले खरिद गरेको ४३ थान गाडीकै विषयमा छानबिन गरिरहेको छ । माघ ६ गते बसेको सार्वजनिक लेखा समितिको बैठकले छानबिनका लागि जनशक्ति र समय थप गरेको थियो।

सांसद कुल प्रसाद पोखरेलको संयोजकत्वमा गठन गरिएको उपसमितिमा तीन सदस्य थप भएपछि सोमबार पहिलो बैठक बसेको छ। बैठकमा अझै केहि कागजपत्र आउन बाँकी रहेकाले सरकार र प्रदेशसभासँग माग गरेको छ। सोमबार पनि उपसमितिको बैठक बस्ने छ। ‘अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ’ उपसमितिका सदस्य सांसद वसि उद्धिन खाँनले भने। उनले उपसमितिले विभिन्न श्रोतबाट प्राप्त भएका कागजपत्रका आधारमा अनुसन्धान अघि बढाइएको बताए।

प्रदेशसभाले ११ र कृषि, भौतिक, सामाजिक र पर्यटन मन्त्रालयमा ४ गरि १५ वटा टाटाको स्ट्रोम गाडी खरिद गरिएको छ। यो गाडीलाई मन्त्रालय र प्रदेशसभाले झन्डै प्रति गाडी साढे ४ लाख मूल्य बढिमा खरिद गरेको हो। विभिन्न मन्त्रालय र प्रदेशसभाले ४३ थान गाडी खरिद गर्दा अधिकांशमा सिप्रदी ट्रेडिङ प्रालि र अग्नि इनकम प्रालिले गाडी विक्रि गरेका छन्। यसमा सिप्रदीले विक्रि गरेको टाटा स्ट्रोमको गाडी प्रदेशसभा,मन्त्रालयमा फरक फरक मूल्यमा विक्रि गरेको छ।

प्रदेशसभाले प्रति गाडि ७१ लाख ९४ हजार मूल्यमा स्ट्रोम गाडी खरिद गरेको छ। यहि गाडीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भने ७२ लाख ९९ हजार रुपैयाँमा खरिद गरेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, र भौतिक पूर्वाधार विकास मन्त्रालयले भने टाटाको स्ट्रोमलाई ७२ लाख ४२ हजार मूल्यमा खरिद गरेको हो। प्रदेशसभा र मन्त्रालयले गाडी खरिदमा २२ करोड ७५ लाख ५७ हजार मूल्य खर्च गरेको छ।
आजको नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement