पूर्वयुवराज पारसलाई हृदयघात

Advertisement

ललितपुर । पूर्वयुवराज पारस शाहको करिब एक घन्टाको पाटन बसाइ सोमबार धेरैका लागि चासोको विषय बन्यो। विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहारको पूजा गर्न उनी पाटन आएका थिए ।

अपरान्ह १२ बजे मंगलबजारस्थित दरबार क्षेत्रमा आइपुग्दा शाहलाई स्वागत गर्नेको भीड बाक्लिएको थियो। शाहको प्रतिक्षामा बिहान १०ः१५ देखि मंगलबजारमा जमघट शुरू भएको थियो। शाहलाई सुरक्षा दिन ललितपुरका विभिन्न स्थानबाट युवाको अलग–अलग समूह आएको थियो।

कोही–कोही पर्यवेक्षक भन्दै थिए– ‘माहोल हेर्दा पारसको भ्रमणले छरिएका राजसंस्थाका समर्थक, राजवादी संघ–संस्था र शुभेच्छुकलाई एकैठाउँमा भेट्ने वातावरण मिलेको प्रतीत भयो।’

शाहको भ्रमणमा व्यवस्थापन कार्यको अगुवाइ गरिरहेका पूर्वमन्त्री विराज विष्टले यसलाई विशुद्ध धार्मिक भ्रमणको संज्ञा दिँदै भने– ‘हामीले प्रचारै गरेका थिएनौं। विभिन्न स्रोत आफैं थाहा पाएर यहाँ आएका हुन्।’

दुई तिहाइको सरकारले जनमुखी काम नगरे राजसंस्था चाहिन्छ भन्नेको उत्साह बढ्ने उनको दाबी थियो। पाटन पुग्नासाथ प्रफुल्लित मुद्रामा देखिएका शाहलाई पञ्चकन्याले फूलमाला लगाइदिएपछि ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले रातो खादा ओढाएर वडामै स्वागत गरेको थियो ।

स्वागतकै क्रममा पूर्वमन्त्री विष्टले पुष्पगुच्छा दिएपछि उनी दरबार क्षेत्र अवलोकनतिर लम्किए । राष्ट्रवादी युवा समूहसहितका समर्थकले घेरा हालेर भीमसेन मन्दिरनजिकैको शिव मन्दिर पुर्याएपछि शाहले पूजा गरे ।

२० मिनेटसम्म पुजा गरेपछि शाह हिँडेर करिब ३ सय मिटर पर रहेको हिरण्यवर्ण महाविहार जानुभएको थियो। क्वालखु मोडमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए । हिरण्यवर्ण महाविहार ‘गोल्डेन टेम्पल’ मा पुगेपछि विहार सुधार समितिले खादा ओढाएर स्वागत गरेको थियो। बौद्ध परम्पराअनुसार मंगला स्तोत्र पाठपछि शाहले दीपंकर बुद्ध, महाविहारमा रहेका तारा र गुम्बामा रहेको लोकेश्वरको दर्शन गरे ।

पुजा सकिएपछि पारस हिँडेर मंगलबजार फर्किएका थिए । सोही क्रममा राजसंस्था पुनःस्थापना समितिका संयोजक विश्वन्तर शाक्यले शाहले महादेव मन्दिरको दर्शनसँगै विहारमा पुजा गर्नु धार्मिक सदभावप्रति राजसंस्थाको निष्ठा भनेर अर्थ लगाए । त्यसक्रममा समर्थकहरूले ‘हाम्रो देश, हाम्रो राजा प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाएका थिए।

त्यसपछि हृदयघात
पूर्वयुवराज पारस शाह हृदयघातका कारण नर्भिक अस्पताल भर्ना भएका छन् । पाटनमा डेढ घन्टाअगाडि पूजामा व्यस्त रहेका उनलाई एक्कासी छाती दुखेपछि आफन्त शीतल सिंहले अस्पताल भर्ना गराएका थिए ।

पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरेको बताइएको छ। एन्जियोप्लास्टीपछि मुटुको भल्व खोल्न सफल भएकाले स्वास्थ्यमा सामान्य सुधार आएको अस्पतालले जनाएको छ।

उनका बुबाआमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बारा जिल्लाको सिमरामा रहे पनि छोराको हृदयघात भएको खबरपछि आमा कोमल काठमाडौं फर्केको बताइएको छ। पारसपत्नी पूर्वयुवराज्ञी हिमानी भने थाइल्यान्डमा छिन। पारसलाई योसहित तेस्रोपटक हृदयघात भएको हो। उनलाई हृदयघात भएको थाहा पाएपछि पूजा, शीतास्मा, दिलासालगायत पूर्वराजपरिवारका सदस्यहरू अस्पताल पुगेका थिए।
आजको नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement