आजबाट भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक’ सुरु, अवलोकनकर्तालाई देश विदेश घुम्ने अवसर

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुचना प्रविधिसम्वन्धी मेला क्यान इन्फोटेक सुरु भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमकाबीच सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले आयोजनाको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सरकारले सुचना प्रविधि क्षेत्रलाई महत्वका साथ हेरेको भन्दै निजि क्षेत्रसँग हातेमालो गर्दे डिजिटल नेपाल निर्माणको तयारीमा रहेको बताए । प्रविधिको प्रयोगले मात्रै सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पुरा हुने भन्दै उनले निजिक्षेत्रलाई इमान्दारीका साथ सहि योजना बनाएर सरकारसँग सहकार्यका लागि आउन आग्रह गरे ।

‘सरकार निजि क्षेत्रसँग सहकार्य गर्न तयार छ । तपाइँहरु योजनासहित आउनुस र सरकारलाई कनभिन्स गर्नुहोस, सरकारबाट सहयोग हुन्छ,’ उनले भने, ‘यदि तपाइँहरुले सरकारलाई कनभिन्स गर्न सक्नुभएन भने त्यो तपाइँहरुको पनि कमजोरी हुन्छ ।’

मन्त्री बास्कोटाले सरकारले आफ्नै सेटलाइट स्थापना गर्ने र डिजिटल हाइवेको निर्माणलाई प्रमुख प्रथामिकतामा राखेको बताए । सरकारले डिजिटल हइवेको निर्माण गर्दै दुर दराजका अति विपन्न र सीमान्तकृत जनतामा सुचना तथा सञ्चरको पहुँच पुर्याउन सरकार लगिपरेको उनको भनाइ छ ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सुचना प्रविधि क्षेत्र आवश्यक सेवा भएकाले सरकारले यसलाई विलासिताको वस्तु र सेवाको रुपमा हेर्न नहुने बताए । उनले सरकारले प्रविधिको मूल्य बढ्ने भन्दा घट्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

क्यान महासंघका अध्यक्ष हेमन्त चौरासियाले सुचना प्रविधिसम्बन्धि प्रचार प्रसार र जनचेतनाको विस्तार गर्दै मुलुकको डिजिटल टान्स्र्फमेसनका लागि क्यान महासंघले केन्द्र तथा प्रादेशिक स्तरमा सुचना प्रविधि मेला आयोजना गर्दे आएको बताए ।

माघ २० गतेसम्म चल्ने मेलामा मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसीटी कलेज तथा तालीम प्रदायक संस्थाके सहभागिता कुल १७५ रहेका छन् ।

मेलामा प्रविधिका नयाँ आविष्कार, रोबोट प्रदर्शनी तथा कृषि उत्पादनमा प्रविधिको प्रयोगसम्बन्धी आविष्कारलगायत बारे जानकारी गराइने छ ।

मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउने छन् । बम्पर पुरस्कारबापत इण्डोनेसियाको बाली र थाइल्याण्डको बैंकक भ्रमणका लागि एक÷एक जोडीले दुई रातका लागि खाने बस्नेसहित जान–आउने टिकट पाउनेछन् । मेलाको सह–आयोजक ई–सेवाबाट यी सबै सुविधा उपलब्ध गराउन लागेको हो ।

यस्तै दैनिक पुरस्कारअन्तर्गत काठमार्डौँमा प्याराग्लाइडिङ, त्रिशूलीमा ¥याफ्टिङ, पोखरामा बन्जीजम्पलगायत सुविधा प्रदान गरिनेछ ।

मेला अवलोकनका लागि सर्वसाधरणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीका लागि रु ५० तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले रु १०० शुल्क तिर्नु पर्नेछ । मेलालाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्नसक्ने क्यान महासङ्घका महासचिव रञ्जीतकुमार पोदारले बताए ।

यस पटकको मेलामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरिनेछ । त्यस्तै नयाँ–नयाँ सफ्टवेर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनीमा राखिएको छ ।

इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रालि र एसोसिएट प्रायोजक ई–सेवा रहेको छ । मेलामा विशेष आकर्षणको रुपमा मेलामा रहने राबोटिक्स क्षेत्रमा पाँच दिनसम्म रोबोट ब्याटल प्रतिष्पर्धा गरिनेछ ।

Advertisement

Advertisement

Advertisement