सिंहदरबारमा लुटेराहरुको मात्र बास रहेको प्रदेश २ का मुख्यमन्त्रीको गम्भीर आरोप

Advertisement

वीरगन्ज । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले काठमाडौंको सिंहदरबारमा लुटेराहरुको मात्र बास रहेको गम्भीर आरोप लगाएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधारणसभाबाट मंगलबार उनले यस्तो आरोप लगाएका हुन् ।

संघका निर्वाचित पदाधिकारी र सदस्यको सपथग्रहण कार्यक्रममा बोल्दै सहभागी भएका राउतले भने, ‘सिंहदरबारमा बसेकाहरुले मुलुक र जनता समृद्धहोस् भन्ने चाहेकै छैनन् । उनीहरु जनतालाई लुट्ने र ठग्ने धन्दामा मात्र लागेका छन्।’

राउतले सुखी नेपाली समृद्ध नेपाल केन्द्र सरकारको नारा कागजी नारा मात्रै भएको बताउँदै यो सरकारले देश विकास गर्न नसक्ने जिकिर गरे । उनले केन्द्र सरकारको नीति र त्यो नीति कार्यान्वयन गर्ने तहमा बसेकाको गलत नियतकै कारण देशको विकास हुन नसकेको भन्दै सिंहदरबारमा बसेर लुट्ने काम नगर्न आग्रह गरे ।

सिंहदरबारमा बसेकाहरुले देशका उद्योगी व्यापारीहरुलाई पनि लुटिरहेको राउतको आरोप छ । उनले नेपाललाई साच्चिकै समृद्ध बनाउने हो भने उद्योगी र व्यपारीलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै मुलुकमा उद्योगमैत्री बाताबरण बन्न नसकेको आरोप लगाए ।

मुख्यमन्त्री राउतले संविधान जारी गरेर दिपावली मनाएका दलले नै संविधान कार्यान्वयन गर्न नचाहेको भन्दै भने ‘हिजो संविधान जारी गर्ने बेला दिपावली गरेर खुशीयाली मनाएकाले नै अहिले संविधान कार्यान्वयन गर्न चाहिरहेका छैनन्। उनीहरु यो संविधान असफल होस् भन्ने योजनामा छन् ।’

राउतले आफूहरुले उद्योगीहरुसँग छलफल गरेर औद्योगिक कानुन बनाउने बताए । उनले देशका ठूला उद्योगी व्यापारी आफ्नो गलत स्वार्थ पूर्तिका लागि राजनीतिक दलको चङगुलमा फसेका कारण पनि यो क्षेत्रको विकासमा समस्या भएको तर्क गरे ।

वीरुगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल केडियाले आफूहरुले देखिने गरी काम गर्ने बताए। उनले पर्सा बारा औद्योगिक करिडोरको औद्योगिक सुरक्षाका निम्ति कोरिडोरलाई सीसीटिभी क्यामराको सञ्जालमा जोड्ने, औद्योगिक कोरिडोरका लागि केमिकलयुक्त वारुणयन्त्र सहितका पूर्वाधार निर्माण गर्ने, सिमारा विमानस्थलको स्तरोन्नती गरी भारत र नेपालका काठमाडौं बाहेकका ठूला सहरमा नियमित उडानका लागि पहल गर्ने र पर्साको एउटा निश्चित भूभागमा धुलोजन्य अर्थात् डस्टी कार्गोको भण्डारणको व्यवस्था मिलाउने बताए ।

Advertisement

Advertisement

Advertisement