‘आँगन छेउको सुर्कोसमेत बाँझो राख्ने प्रवृत्ति बढ्यो, अब बाँझो राखिए सरकारले पनि लिनसक्छ’

Advertisement

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जग्गा बाँझो राख्ने प्रवृत्ति बढेर गएको भन्दै यस्तो प्रवृत्ति अन्त्य गर्नेगरी नयाँ भूमि व्यवस्थापन तथा भूमि ऐन ल्याउने बताएकी छन् ।

राष्ट्रिय सहकारी नीतिसम्वन्धी छलफल कार्यक्रममा उनले मानिसहरुमा आँगन छेउको सुर्कोसमेत बाँझो राखेर बस्ने प्रवृत्ति बढेको भन्दै यस्तो प्रवृत्ति अन्त्य गर्न नयाँ कानुन ल्याउन लागिएको बताइन् । जमिन बाँझो राखेर समृद्धि नआउने अर्यालको भनाई छ ।

उनले भनिन्, ‘समृद्धिको कल्पना भूमिको सही उपयोगबाट मात्र सम्भव छ । भूमि उपयोग, उपभोग र व्यवस्थापनले मात्र गरिबी अन्त्य हुनसक्छ । अर्यालले सहकारी आन्दोलनमार्फत समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुने भन्दै त्यसका लागि सहकारीलाई कृषि उत्पादन र भूउपयोगका लागि परिचालन गर्नुपर्ने बताएन् ।

उनले चीनमा जग्गा–जमिन बाँझो राख्न नपाइने कानुन रहेको उदाहरण दिँदै नेपालमा पनि त्यो खालको नीति जरुरी रहेको बताइन् । काम गर्न चाहनेले भूमि नपाउने र काम नगर्नेले भूमि ओगटेर बस्न नहुने अर्यालको भनाईको आशय थियो ।

उनले भूमि ऐन छिट्टै ल्याउने पनि बताइन् । यो ऐन बनेपछि तीन महिनाभित्रमा नजिता आउन थाल्ने अर्यालको जिकिर छ । उनले छरपस्ट रहेको भूमिहरुलाई व्यवस्थापन गर्नका लागि भूमि बैंकको व्यवस्था गरिने बताइन् ।

मन्त्री अर्यालले भूमि बैंकको स्थापना गर्न सके नेपालको जग्गा–जमिन बाँझो नहुने दावी गर्दै सके व्यक्तिको जग्गा सम्बन्धित जग्गा धानीले गर्ने नसके समुदाय वा सरकारलाई भाडामा दिने व्यवस्था समेत गर्ने व्यवस्था मिलाउने बताइन् । उनले कानुन आइसकेपछि जमिन बाँझो राख्नै नपाइने बताउँदै राखे कारवाही हुने बताइन् ।

मन्त्री अर्यालले सुकुम्बासी समस्याका लागि पनि भूमि ऐनमा सुधार जरुरी रहेको भन्दै भनिन्, ‘सुकुम्बासी समाधानका लागि सरकार गम्भीर रुपमा लागेको छ । यो समस्या समाधानका लागि आयोग गठनको अन्तिम चरणमा छौं ।’ मन्त्री अर्यालले सरकारी जग्गा, सार्वजनिक जग्गा र वनको अतिक्रमण निकै बढेर गएको भन्दै यो स्थितिप्रति सरकार चुप लागेर नबस्ने बताइन् ।

Advertisement

Advertisement

Advertisement