नयाँ प्रजातिका माछा भित्रिएसँगै रैथाने माछा लोप हुँदै

Advertisement

पोखरा । नयाँ प्रजातिका माछा भित्रिएसँगै पोखरा र आसपासका तालतलैया एवं जलाशयमा रैथाने जातका माछा लोप हुँदै गएका छन् ।

पछिल्ला वर्षमा मिचाहा प्रजातिको माछा टिलापियालगायतका माछा फष्टाउँदै जाने र रैथाने माछा लोप हुँदै जाने क्रम बढेको हो । टिलापियाको बढ्दो क्रमले रैथानेका साथै अन्य जातका माछालाई पनि प्रभावित पारेको बेगनास ताल जलाहारी समुदायका अध्यक्ष ज्ञानबहादुर जलाहारीले बताए ।

“बेगनास ताल र आसपासका ताल एवं जलाशयमा रेवा, फगेटा, काँडे, बिग हेड, बाम, कत्ले, शहर र भित्तेजस्ता रैथाने जात मिचाहा प्रजातिको अतिक्रमणमा परेका छन्”, उनले भने । टिलापियाको अन्य माछामा भन्दा प्रजनन क्षमता बढी हुने भएका कारण पनि पछिल्ला समयमा ताल तथा जलाशयमा यसको सङ्ख्या निकै बढेको मत्स्य व्यवसायी बताउँछन् । रैथाने जातका शहर, बामजस्ता माछाको माग बढी हुने गरे पनि यी विस्तारै हराउँदै गएको जलाहारीले बताए ।

उनका अनुसार बेगनासमा सर्वसाधारणले अत्यधिक रुचाइएको शहर माछा प्रतिकिलो रु ८०० मा बिक्री हुने गरेको छ । टिलापिया ठूलो प्रतिकिलो रु २७० मा बिक्री हुन्छ भने सानो रु २३० मा । त्यस्तै भ्याकुर रु ५००, ग्रास÷रघु÷नैनी÷कमन जातका माछा रु ४०० प्रतिकिलो बिक्री हुन्छ । यहाँ पाइने भित्ता माछा रु २८० प्रतिकिलोमा बिक्री हुने गरेको उनले जानकारी दिए ।

मिचाहा प्रजातिको टिलापिया फुल पारेर मुखमा राखी भुरा निस्केपछि छाड्ने अनौठो माछा हो । यसले सामान्यतः तीनदेखि आठ पटकसम्म फुल पार्छ । एकै पटक ५०० सम्म भुरा निकाल्ने भएकाले पछिल्ला समयमा ताल तथा जलाशयमा यसको सङ्ख्या ह्वात्तै बढेको मत्स्य व्यवसायी बताउँछन् । मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख अग्नी नेपालले पोखरामा फेवातालमा मात्रै करीब ३० प्रजातिका माछा पाउने गरेको जानकारी दिए  ।

माछाका प्रजातिमध्ये काँडे, शहर, बाम, कत्ले प्रजातिका माछा हराउँदै गएको उहाँले बताउनुभयो । “हराएका प्रजातिमध्ये केही फाट्टफुट देखिए पनि रज वामजस्ता माछा अहिले पाउन छोडिएका छ”, उनले भने ।

केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष फेवातालबाट ५३ टन माछा निकालिएको छ भने रूपातालबाट ५८ टन माछा निकालिएको छ । त्यस्तै बेगनासबाट १६ टन माछा निकालिएको छ । लेखनाथका खास्टेलगायतका तालमा सहकारीमार्फत माछापालन भइरहेको प्रमुख नेपालले जानकारी दिए ।

स्थानीय मत्स्य व्यवसायीका अनुसार बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाइनेमा पछिल्ला वर्षमा यो सङ्ख्या वर्षेनी घट्दो क्रममा छ । वरपर रहेका अन्य माछालाई तर्साउने बानी रहेको टिलापियाले अन्य माछाको आहारा खाने भएकाले यो अन्य प्रजातिका लागि घातक भएको उनीहरूको तर्क छ ।

बेगनास ताल आसपासका ४२ घरपरिवारमध्ये लगभग ८० प्रतिशतले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन् । पछिल्ला समयमा अन्य प्रजातिको माछाको प्रजनन तथा उत्पादन पनि बढी हुने भएका कारण उनीहरूको ठूलो सङ्ख्याले रैथाने प्रजाति हराउँदै गएको बेगनास रूपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालले बताए  ।

“शहरजस्ता माछा कम उत्पादन हुने तर बजारमा माग अत्यधिक हुने भएकाले पनि यी प्रजाति लोप हुँदै गएको हुनसक्छ”, उनले भने  । बेगानास रूपा क्षेत्रमा पाइने वाम माछा विगतमा स्थानीयले औषधिका रूपमा समेत प्रयोग गर्ने गरेको जानकारी दिँदै उनले यस्ता प्रजातिको संरक्षणमा चासो दिनुपर्ने उल्लेख गरे ।

Advertisement

Advertisement

Advertisement