सहिद परिवारको गुनासो– नेताले सात पुस्तालाई पुग्ने कमाए, हामीलाई वास्ता गरेनन्

Advertisement

काठमाडौं । जनआन्दोलनका घाईते तथा सहिद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो पोखेका छन् । २०६२/०६३ को जनआन्दोलनमा परेर सहिद भएकाका परिवारले बुधबार रिपोर्टर्स क्लबमा त्यस्तो गुनासो पोखेका हुन् ।

सहिद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले राज्यले आफूहरुलाई नसम्झिएको गुनासो पोखे । उनले भने, ‘राज्यले हाम्रा अभिभावकको रगतलाई चिनेन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हाम्रा अभिभावकले ज्यानको आहुति दिए । तर, राज्यले हामीलाई कहिल्यैपनि सम्झिएन् ।’

सहिद गोविन्द शर्माकी धर्मपत्नी भगवती शर्माले आन्दोलनमा सहादत प्राप्त गर्ने र घाईते जिउँदा सहिदहरुले राज्यबाट कुनै पनि सम्मान नपाएको गुनासो पोखिन् । उनले भने,‘नेता तथा कार्यकर्ताहरुले अन्तर्राष्ट्रियस्तरको सुविधा लिने तर आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारले केही पनि पाएनन् ।’शर्माले आफूहरुलाई आजको दिन सरकारले बोलाएको भए सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने थियो भन्नेपनि धारणा राखिन् ।

त्यस्तै सहिद बासुदेव घिमिरेकी धर्मपत्नी सुनिता घिमिरेले सरकारले आफूहरुको पीडा नसुनेको गुनासो पोखिन् । उनले भनिन्, ‘हामीहरुकै श्रीमानहरुको रगतका कारण आज यत्रो परिवर्तन आयो । तर, सरकारले हामीलाई कुनै वास्ता गरेको छैन ।’ सरकार आफ्नो ७ पुस्तालाई पुग्नेगरि कमाउन व्यस्त रहेको पनि उनले आरोप लगाईन् ।

सहिद चन्द्र बहादुर बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटीले मुलुकमा परिवर्तनको लागि आफ्नो श्रीमानले जीवन नै आहुति दिएको र आफ्नो सिउँदो पुछिएको सुनाउँदै राज्यले आफूहरुलाई अहिलेसम्म खासै वास्ता नगरेको गुनासो पोखिन् । उनले भनिन्,‘राज्यले हाम्रा बालबालिकाहरुलाई टुहुरो बनायो । राज्यले सहिद सप्ताह मनाउँदै गर्दा हामीलाई सम्झिएन । धेरै दुःख लागेको छ ।’उनले चार जना सहिदको मात्रै नभएर २०६२/०६३ को जनआन्दोलनका २१ जनै सहिदहरुलाई पनि जोडेर शालीक निर्माण गर्नुपर्नेमा जोड दिईन् ।

सहिद ताहिर अली अन्सारीका छोरा अस्गर अली अन्सारीले राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । उनले सहिद परिवारलाई सरकारले बाँच्ने आधार बनाईदिनुपर्ने पनि माग गरे ।

कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनका घाईते मेघराज आचार्यले आफू मृत्युले छोडेको व्यक्ति भएको सुनाउँदै नेपालीहरुले खाएको प्रत्येक गाँसमा र फेर्ने प्रत्येक श्वाँसमा सहिदको मूल्य रहेको बताए ।स्वास्थ्य मन्त्रालयले विर अस्पतालमा रहेको औषधी पसललाई तिर्नुपर्ने रकम नतिरिदिँदा आफूहरुलाई औषधीको सेवा लिनपनि कठिनाई भएको उनले गुनासो पोखे ।

कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनका घाईते सुनिल भट्टराईले राज्यले पछिलो समय हचुवाको भरमा सहिद घोषणा गर्दा बास्तविक सहिदहरुको अपमान भएको बताए । भट्टराईले पछिल्लो समय मुलुकमा सुशासन कायम हुन नसकेको र दण्डहीनता मौलाएको पनि आरोप लगाए ।

त्यस्तै २०६२/०६३ को जनआन्दोलनका घाईते ढाल बहादुर बस्नेतले लोकतन्त्रको लागि लड्दा आफूले अहिले अपाङगताको जीवनयापन गर्नुपरेको सुनाउँदै अहिलेसम्म राज्यले कुनै वास्ता नगरेको गुनासो पोखे ।

घाईते युवराज कँडेलले आफूहरु जीवन मरणको दोसाँधमा रहेको बताए । तर, राज्यले आफूहरुलाई कुनै वास्ता नगरेको उनले गुनासो पोखे ।उनले जनआन्दोलनका घाईतेहरु अब एकजुट भएर राज्यसँग आफूहरुले पाउनुपर्ने सेवा सुविधाकोलागि लड्नुपर्ने धारणा राखे ।

Advertisement

Advertisement

Advertisement