तीन अर्ब जुटाएर भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस सुन्तलीको घोषणा

Advertisement

काठमाडौं । कलाकारद्धय सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको संस्था धुर्मुस सुन्तली फाउण्डेशनले बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका १५ स्थित २० बिघा छ कट्ठा जग्गामा फाउण्डेशनले रंगशाला बनाउने बताएको हो । यसका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।

फाउण्डेशनका अध्यक्ष कट्टेल यो रंगशालामा क्रिकेटसँगै अन्य खेलहरू पनि खेल्न सकिने बताए । उनले रङ्गशालालाई एकेडेमीका रूपमा विकास गर्ने पनि बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नाम दिइने यस रंगशाला गुरुयोजना बन्न छ महिना लाग्ने र आगामी अढाई वर्षभित्र निर्माण कार्य सम्पन्न भई भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिने छ। तीन अर्ब रुपियाँ लागत अनुमान गरिएको यो रंगशाला बनाउन कलाकारद्धयले स्वदेश र विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग जुटाइने छ ।

कलाकारद्धय कट्टेल र घिमिरेले राष्ट्रिय गौरवको यस अभियानमा साथ र सहयोग गर्न आग्रह गरेका छन् । कलाकारितासँगै समाजसेवामा समेत लागेर नाम बनाएका उनीहरुले यसअघि भूकम्प पीडितदेखि बाढी पीडितसम्मलाई एकीकृत नमुना बस्तीहरु निर्माण गरिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement