ओली भन्छन्- केही बर्षभित्र यो मुलुकले मुहार फेर्छ

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केही बर्षभित्र नेपाल गरिव नरहने जिकिर गरेका छन् । चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको हस्ताक्षर कार्यक्रममा उनले केही वर्षभित्र मुलुकको परिचय परिवर्तन हुने दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही वर्षमै देशको परिचय फेरिने बताउँदै भने, ‘गरिब नेपाल, अब गरिब नेपाल रहँदैन । बाटा भत्किएको नेपाल अब रहँदैन । यत्ति सानो नेपाल चिटिक्‍क पार्न सकिन्छ रिङरोड बनिसक्यो। बनाउँदा धूलो हुन्छ। गाली पनि खाइन्छ तर बनिसकेपछि गाली खान छोडिन्छ।’

उनले मेलम्चीको पानी काठमाडौं ल्याएरै छोड्ने बताए । मेलम्चीको विदेशी ठेकेदारको निर्माण कार्य ढिलो गरेर पटक पटक भाका सार्दै आएको र पछिल्लो समयमा उसले आयोजनाबाटै हात झिक्न लागेको बेला ओलीले मेलम्ची ल्याएरै छाड्ने तर्क गरेका हुन् ।

उनले भने, मेलम्ची ल्याएरै छोड्छौं । पानी ल्याएरै छोड्छौँ। पानी ल्याउँदा फेरि पाइप फुटेर हिलो हुन्छ। थोरै गाली खान्छौँ। निर्माण कार्यको समयमा अलिकति असुविधा हुन्छ। तर असुविधा नभइकन सुविधा हुँदैन।’

ओलीले जीपी कोइराला स्वासप्रश्वास केन्द्र बनाउनेबारे कांग्रेससँग छलफल गर्न चाहेको तर काँग्रेसले नै राम्रो बनाउन नचाहेको बताए । उनले स्वासप्रश्वास केन्द्रलाई यथास्थितिमा नराखेर राम्रो बनाउँ, अगाडि बढाउँ भन्दा कांग्रेसले यथास्थितिमा राख्नु भन्यो भन्दै आफूले निवेदन गर्दागर्दा कांग्रेसले नमानेकाले असमझदारी बनेको भन्दै यस्तो तरिकाले कसरी देश बन्छ ? भने ।

प्रधानमन्त्री ओलीले आफूहरुले नेपालमा नयाँ ढंगबाट विकासलाई अघि बढाउन चाहेको बताउँदै भने, ‘युवाले देशमा केही गर्न सकून।यसकै आधारमा हामी अगाडि बढेका छौँ। हामीले नेपाललाई नयाँ ढंगले विकासको गतिमा अगाडि बढाउनुपर्छ भनेर लागेका छौं । जुन कुरा सत्य छ, त्यो बोल्ने आँट गर्ने कि नगर्ने ? साँचोलाई साँचो भन्ने कि नभन्ने भन्ने प्रश्न हो।’

उनले कलाकार एवं समाजसेवीद्धय सीताराम कट्टेल र कुञ्जना घिमिरेले गरेका कामको प्रसंशा गर्दै यस क्रिकेट बनाउने उनीहरुको प्रयासमा पनि सरकारले पूर्ण सहयोग गर्ने बताए । ओलीले रंगशाला उद्‍घाटन गरेमात्र पर्याप्त नहुने भन्दै यसलाई समयमै निर्माण सम्पन्न गर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement