बहत्तर अर्ब तिर्न आलटाल गर्दै आएको एनसेलको लाभकर मुद्दा सर्वोच्चको पूर्ण इजलासमा सुनुवाई सुरु

Advertisement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको लामो समयदेखि अन्योलमा पारिएको लाभकर विवादको मुद्दा प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाले वृहत पूर्ण इजलासमा सुरुवाई सुरु गराएका छन् । लाभकर चुक्ता नगरी विगतमा केही न्यायाधीसले एनसेललाई मुनाफा लैजान अनुमति दिएसँगै एनसेलले अदालत र न्यायाधीसलाई समेत प्रभावित पार्ने काम गरेको आरोप लाग्दै आएको छ ।

चालेन्द्र प्रधानन्यायाधीस भएर आएसँगै यो विषयलाई अन्तिम किनारा लगाउने प्रयासमा सर्वोच्च लागेको छनक मिलेको छ । यसअघि गत असोज १८ गतेबाट मुद्दाको अन्तिम सुनुवाइ सुरु भएर स्थगित भएको मुद्दा बृहत पूर्ण इजलासमा सुनुवाई सुरु भएको छ ।

प्रधानन्यायाधीस राणा आफूसहित न्यायाधीसहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासमा एनसेल मुद्दा सुनुवाइ सुरु भएको हो । एनसेलको मुद्दा पूर्ण इजलासमा सुनुवाइ सुरु भए पनि उसले मागदाबी गरे अनुसारको आदेश भने यसअघि भइसकेको छ ।

तत्कालिन न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले लाभांश रोक्दा एनसेललाई अपूरणीय क्षति भएको भन्दै उसलाई लाभांश लैजान दिन अन्तरिम आदेश जारी गरेका थिए।

उक्त अन्तरिम आदेशमा लाभकरको दायित्व निवेदक कम्पनीको नभएको उल्लेख गरिएबाट एनसेलले देशको राजनीतिक प्रशासनिक क्षेत्रमा मात्रै नभएर अदालतलाई समेत राम्रै प्रभावित पार्ने काम गरेको देखिन्छ । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महरालाई एनसेलको पूर्वलगानीकर्ता टेलियासेनेराका प्रतिनिधिले भेटेसँगै एनसेलको लाभकर विवादलाई नयाँ मोड लिन पुगेको थियो ।

त्यसपछि एनसेलको दायित्व केही पनि नरहेको र रहेको भए पनि एनसेलबाट हात झिकेको टेलियासेनेराको भएको भन्दै कर अशुली प्रक्रियालाई दीर्घकालिनरुपमा अन्योलमा पार्ने र एनसेललाई कर नतिराउने योजना बनेको थियो ।

Advertisement

Advertisement

Advertisement