‘मेची–महाकाली रेल दौडाएरै छाड्छौं’

KP-Oli

बनियानी । प्रधानमन्त्री केपी ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने बताएका छन् । झापाको भद्रपुर–५ स्थित मेची पुलको बिहीबार उद्घाटन गर्दै उनले भने, “सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ।”

रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताए । सरकारले नेपाल र भारतसँगको नजीकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै उहाँले कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए ।

मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको ओलीले उल्लेख गरे । पुल सञ्चालसँगै भद्रपुर विकासको गतिमा एक कदम अघि बढेको उनले बताए । “अब मेचीपुल सञ्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ”, ओलीले भने, “समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।”

तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विसं २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गरेका थिए । कूल रू ३३ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल निर्माण भएसँगै भारतको बङ्गाल तथा विहार राज्यसँग सडकमार्फत सोझो सम्पर्क स्थापित भएको छ ।