सेवा शुल्क हटाउने निर्णय विरुद्ध देशभरका रेष्टुरेण्ट बन्द गर्ने घोषणा

Advertisement

काठमाडौं। रेष्टुरेण्ड एण्ड वार एशोसिएसनको १० प्रतिशत सेवाशुल्क खारेज निर्णय विरुद्धमा तीनवटा मजदुर संघको संयोजकत्वमा देशभरका सबै रेष्टुरेण्ट र बार बन्द गर्ने घोषणा गरिएको छ ।

नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले संयुक्त छलफलपछि शुक्रबार यस्तो निर्णय गरेका हुन्। जस अनुसार आगामी मंगलबारदेखि देशभरका सबै रेष्टुरेण्ट र बार बन्द गरिने छन् ।

सन् २००८ मा रेवान र फाष्टफुड एसोसिएसन नेपालको होटल तथा रेष्टूरेण्टमा कार्यरत युनियनबीच भएको सम्झौता अनुसार जम्मा भएको १० प्रतिशत सेवा शूल्क कामदार, कर्मचारी र प्रतिष्ठानबीच निश्चित प्रतिशत वाँडफाँड गर्दै आएको तर अहिले रेवानले गलत निर्णय गरेको कारण आन्दोलनमा जान परेको मजदुरको भनाइ छ ।

आन्तरिक राजश्व विभाग र माताहतका कार्यालयहरुले रेष्टुरेण्टको मेनु मूल्यमा सेवा शुल्क र कुनै प्रकारको कर अलग्गै जोडेर लिन नपाइने निर्दैशन जारी गर्दे कर्यान्वयनमा कडाइ गरे पश्चात रेवानले यस्तो निर्णय गरेको हो । रेष्टुरेन्टले मेनु मूल्यमा सेवा शुल्क समावेश गरेर मूल्य सुची जारी गर्न सक्ने भएपनि व्यवसायीले मजदुरले खाइपाइ आएको सुविधालाई खोस्न लागी परेको एक मजदुर नेताले बताए ।

रेष्टुरेण्ट व्यवसायीहरु उल्टो दिशामा हिड्न खोजेका छन् यस प्रयाशलाई हामीले कदापी पुरा हुन दिँदैनौं,’ उनले भने, ‘सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको मौका पारेर व्यवसायीहरुले यो कदम चालेको देखिन्छ ।’

दश प्रतिशत सेवा शूल्क श्रम नियमावली २०७५ को नियम ८२ अनुसार कानुनी रुपमा वैधानिकता प्रदान गरिएको कारण खारेज गर्नु अन्याय भएको मजदुरको तर्क छ ।

रेवानले गरेको निर्णय विरुद्ध तीन वटा संघ कानुनी उपचार खोज्ने क्रममा रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष माधव पाण्डेले बताए।आइतबारदेखि सेवा शूल्क हटाउने रेष्टुरेण्टलाई संचालन गर्न रोक लगाउने कार्यक्रम रहेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement