सत्तारुढ नेता भन्छन्– केसीले अनशन तोडे वार्ता गरिन्छ, नत्र गरिन्न

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सोमप्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीले तत्काल अनशन तोड्नुपर्ने अडान राखेका छन् । रिपोर्टर्स क्लवमा शुक्रबार उनले भने, ‘सरकार केसीसँग वार्ता गर्न तयार छ । तर, उहाँले अनशन तोड्नुपर्छ ।’

पाण्डेले डाक्टर केसीको स्वास्थ्यप्रति वर्तमान सरकार संवेदनशील दावी गरे । उनले भने, ‘सरकारले गोविन्द केसीलाई मार्न चाहेको छ भनेर कसैले पनि दुष्प्रचार नगरौं । यस्तो किसिमको भ्रम र अफवाह नफैलाउँ ।’

नेता पाण्डेले थपे, ‘सरकारले वार्ता टोली बनाउने वा नबनाउने वा एक्लै गर्ने भन्ने कुरा सरकारको हो ।’ उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘नन–ईस्यु’ मा संसद अवरोध गरेर रडाको मच्चाएको पनि आरोप लगाए । उनले भने, ‘एक जना डाक्टर गोविन्द केसीको पक्षमा लागेर व्यवस्था नै खराब हो जस्तो गरिरहेको छ ।’

कांग्रेससँग डाक्टर केसीबाहेक अरु कुनै एजेण्डा नभएको पनि उनले आरोप लगाए । पाण्डेले भने, ‘चिकित्सा शिक्षा विद्येयक केसीले उठाएको मागभन्दा माथि उठेर आएको छ । गोविन्द केसीको दिमागमा नभएको कुरा पनि विद्येयकमा आएका छन् ।’

उनले ऐनमै मेडिकल कलेज खोल्न नपाउने भनेर लेखिएको दुनियाँमै पहिलोपटक नेपालमात्रै होला भन्दै प्रश्न गरे । पाण्डेले भने, ‘दुनियाँमै यस्तो बाध्यकारी प्रावधान कुनैपनि ऐनमा लेखिएको छैन होला । तर, नेपालमा लेखियो ।’

पाण्डेले कुनैपनि हालतमा विद्येयकको प्रस्तावनामा माथेमा आयोगको नाम नलेखिने जिकिर गरे । उनले भने, ‘हिजो राजा, महाराजाको नाम लेखिन्थ्यो । तर, अब त्यस्तो हुँदैन् ।’ कांग्रेसले पनि अहिले आएर ठूलो र चर्को कुरा गर्न नहुने उनको भनाई छ । पाण्डेले भने, ‘कांग्रेसले ठूलो कुरा गर्न पाउँदैन् । हिजो कांग्रेस सरकारमा हुँदा गोविन्द केसी ७ पटकसम्म अनशन बसे । तर, खोई त कांग्रेसले विद्येयक ल्याउन सकेको ?’

Advertisement

Advertisement

Advertisement