बदला लिँदै नेपालले यूएईलाई चार विकेटले हरायो

Advertisement

काठमाडौं । बिहीबार २१ यूएईसँग पराजित भएको नेपालले शुक्रबार बदला लिँदै उसलाई चार विकेटले हराउन सफल भएको छ । दोस्रो टी–२० अन्तर्राष्ट्रिय सिरिजको खेलमा आज नेपालले यूएईलाई हराउन सफल भएको हो । यो जितसँगै नेपालको सिरिज जित्ने सम्भावना कायमै रहेको छ । यसअघि भएको ३ एकदिवसीय खेलको शृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको थियो।

युएईलाई उसकै घरेलु मैदानमा पराजित गर्दै नेपालले ३ खेलको सिरिजमा एक–एक को बराबरी गर्न सफल भएको छ। यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरे पनि अन्तिममा जित निकाल्न सफल भएको हो ।

नेपालको खेलमा दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४७ रनको योगदान दिए । उनले चार चौंका र एक छक्का प्रहार गरे। ४६ रनमा ५ विकेट गुमाएको नेपालको इनिङ दिपेन्द्र र पवनले सम्हालेका थिए। पच्चिस बलमा दुई चौका प्रहार गरेका पवन १९.१ ओभरमा १८ रन जोड्दै क्याच आउट भए ।

त्यस्तै, करण केसीले दुई चौका र एक छक्का प्रहार गर्दै २० रनको योगदान दिए। भने ओपनर प्रदिप ऐरीले आठ, ज्ञानेन्द्र मल्लले सात र सन्दीप जोराले एक रनको योगदान दिए पनि कप्तान पारस खड्का शुन्य रनमा आउट भए । सोमपाल कामी शुन्य रनमा अविजित रहे।

शुभारम्भमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको थियो । युएईलाई कमजोर चुनौति दिलाउन नेपालका अबिनाश बोहोराले तीन विकेट, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिएका थिए।

Advertisement

Advertisement

Advertisement