बुढीगण्डकीमा सरकारको निकै ठूलो घोटाला छः विश्वप्रकाश

Advertisement

चितवन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनामा सरकारले निकै ठूलो घोटाला गरेको आरोप लगाएका छन् । भरतपुरमा सोमबार आयोजित विरोध कार्यक्रममा उनले बुढीगण्डकीमा सरकारले अबौं रुपियाँको घोटाला गरेको बताएका हुन् ।

काँग्रेसले सोमबारबाट सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन सुरु गरेको हो । नेता शर्माले बुढीगण्डकी परियोजना विना प्रतिस्पर्धा विवादास्पद चिनियाँ कम्पनी गेजुवालाई किन दिएको ? भनी प्रश्न गर्दै दोहोर्याएर सोही कम्पनीलाई दिनुको पछाडि निकै ठूलो अनियमितता रहेको तथ्य आफूहरुले पाएको बताए ।

तत्कालिन सरकारले जनताबाट पैसा उठाएर बुढीगण्डकी आफै बनाउने निर्णय गरे पनि प्रधानमन्त्री केपी ओलीले गेजुवालाई सुनको किस्तीमा राखेजस्तो गरी दिएको उनको भनाई छ । शर्माले जुन तरिकाले जुन कम्पनीलाई दिइयो, त्यसको पछाडि ठूलो रहस्य रहेको भन्दै आयोजना बनाउनका लागि नभई यसबाट अबौं रुपियाँको घाटालाका लागि दोहोर्याएर आयोजना दिने काम भएको बताए ।

उनले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन सक्ने तर जनताले विश्वास गरेको प्रधानमन्त्रीले बुढीगण्डकी बनाउन किन नसक्ने भन्दै ? जनता आयोजनामा लगानी गर्न तयार रहेको र पेट्रोलियम पदार्थबाट समेत सोही आयोजनाका लागि अबौं रुपियाँ संकलन भइसकेको अवस्थामा विदेशी कम्पनीलाई दिनु गलत रहेको बताए।

शर्माले भने, ‘आज महाकालीको पञ्चेश्वर परियोजना लामो समयदेखि भारतको हातमा छ । डिपिआर बनेको छैन। पश्चिम सेती परियोजना १७ वर्ष काम गरेको कम्पनीले होल्ड गर्यो । बनाएन् । त्यसपछि सात वर्ष चीनको अर्को कम्पनीले होल्ड गर्यो। बनाएन् । तराईको हुलाकी राजमार्ग त्यही रुपमा बसेको छ। रोएर बसेका छन हाम्रो बाटो, गाउँघर बस्तीहरु। अनि हामीले पाँच रुपियाँ आफै उठाएर बनाउ बुढीगण्डकी भन्दैगर्दा चीनलाई किन सुम्पिएको ?’

उनले थपे, ‘तपाईहरु आफ्नो कर्ममा जाँदै गर्दा मोटरसाइकल पेट्रोल वा गाडीमा डिजेल हाल्दै गर्दा तपाईंहरुले खरिद गरेको पेट्रोल डिजेलको प्रतिलिटर ५ रुपियाँका दरले सरकारले उठाइरहेको छ बुढीगण्डकी बनाउन भनेर । हाम्रो पालादेखि उठ्दै आइरहेको छ । ५ रुपियाँको दरले किन पैसा उठाइँदैछ भन्दा त्यो बुढीगण्डकी हामी आफ्नै पैसाले बनाउने। नेपालले आफै बुढीगण्डकी बनाउने भनेर प्रक्रिया अगाडि बढाउने, अरबौं रुपियाँ नेपाली जनताले तिरेर भेला हुने, अनि एक दिन विहान जुरुक्क उठेर कमरेड केपी ओलीले चिनियाँ कम्पनी गेजुवालाई सुनको किस्तीमा राखेर दिएजस्तो गरी भन्नुभो, लौ बुढीगण्डकी लिएर जाउ। बुढीगण्डकी बुढाले यसरी किन सुम्पिए, ए एमाले–माओवादीका साथीहरु प्रश्न गर्नुपर्दैन ? तपाईहरुले पनि तिर्नुभएको छ ५ रुपियाँ। के तपाईलाई लाग्दैन नेपालीको देश, नेपाली मनबाट बनाउन सकिन्छ।’

Advertisement

Advertisement

Advertisement