फोरजी सेवा सञ्चालनसँगै एनसेललाई अघि बढ्न नदिने नेपाल टेलिकमका नयाँ एमडीको योजना

Advertisement

काठमाडौं । सरकारको समेत स्वामित्व रहेको नेपाल टेलिकमले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई उछिन्ने योजना अघि सारेको छ । आफ्नो १५औं बार्षिकोत्सवमा नेपाल टेलिकमका नयाँ कार्यकारी निर्देशक (एमडी) डिल्लीराम अधिकारीले कम्पनीको सुधारको आक्रामक एवं महत्वाकाँक्षी योजना अघि सारेका हुन् ।

दुई दिनअघि मात्रै फोरजी सेवा सञ्चालनका लागि सम्झौता गरेका उनले नेपाल टेलिकमलाई नम्बर १ कम्पनी कायम राख्न आफ्नो पूरानो सेवाको शैलीमा आमुल परिवर्तन गर्ने बताए । मंगलबार कम्पनीमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले प्रतिस्पर्धी बजारमा कम्पनीको व्यवसायिक सान्दर्भकता र स्वस्थ अस्तित्व कायम राख्न सेवाहरुमा निरन्तर विकास, विस्तार र विविधिकरण गरिने बताए ।

उनले आफूहरुको प्रमुख प्रतिस्पर्धी एनसेल नै भएको अप्रत्यक्षरुपमा स्वीकार गर्दै मोबाइल तथा तारसहितको सेवाहरुमा नयाँ प्रविधिमार्फत सेवा विस्तार गर्ने, सेवाको गुणस्तरमा सुधार गर्ने, मर्मत संभार र ग्राहक सेवामा थप सुधार गरी बजारीकरणलाई वैज्ञानिक बनाउने, प्रभावकारी जनशक्ति व्यवस्थापनमार्फत कार्यसञ्चालन बढाउने बताए ।

एनडी अधिकारीले भने, ‘सेवा प्रवाहमा आधुनिक प्रविधि भित्र्याउने उद्देश्यले मैले काम अघि बढाएको छु । प्रविधिको तीब्र परिवर्तनसँगै टेलिकमको चुनौति पनि बढ्दै गएको छ । सार्वजनिक संस्थाको अवस्थामा निजी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था टेलिकमको रहेको छ ।’

नेपाल टेलिकमले यस आर्थिक वर्षमा फोरजी मोबाइल तथा एफटीटीएच ब्रोडब्याण्ड सेवाबाट प्रविधिक परिवर्तन गर्ने उनले बताए । अधिकारीले फोरजी सेवाको विस्तारका लागि आह्वान भएको बोलपत्रहरुको सम्झौता भइसकेको भन्दै यो सेवा विस्तारका लागि धमाधन काम अगाडी बढेको जानकारी दिए ।

उनका अनुसार यो सेवाका विस्तारको कार्ययोजना कम समय र कम लागतमा सम्पन्न गरी देशभरका मोबाइल सेवाग्राहीलाई अत्याधुनिक र उच्च डाटा रेटसहितको मोबाइल सेवा प्रदान गर्ने बताए । टेलिकमले एक करोड लाइन क्षमताको मोबाइल परियोजनालाई यस वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य लिएको छ । यस परियोजना अन्तर्गतको प्याकेज–बी को काम सम्पन्न भएको र प्याकेज–ए को काम भने बाँकी रहेको अधिकारीले बताए ।

बार्षिकोत्सवको अवसरमा छुट सुविधाहरु
कम्पनीले वार्षिकोत्सवको अवसरमा छ महिनाको लागि लागू हनेगरि सेवाग्राहीलाई विभिन्न खालका छुट दिएको छ । माघ २२ गतेदेखि एक महिना अवधिका लागि एनटी मोबाइल एप डाउनलोड तथा रजिष्टेशनमा निःशुल्क १० एमबी डाटा, जीएसएम पोस्टपेड ग्राहकलाई ९०० को प्याकेजमा हरेक महिना अलटाइम डाटा ३.३ जीबी र ५०० को फ्रि रिसोर्स, माघ २३ देखि फागुन ८ सम्म रजिष्ट्रर हुने नयाँ जीएसएम पोष्टपेड मोबाइल ग्राहकहरुलाई प्रति तीन महिना अल टाइम डाटा १ जीबी र १०० मिनेट अल टाइम भ्वाइस बोनस, टुरिष्ट प्याकेज, माघ २२ देखि ९० दिनको लागि दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज जस्ता छुटहरु सार्वजनिक गरिएको छ ।

टेलिकमले १५ वर्षको अवधिसम्ममा देशभर दुई करोड १० लाख बढी आफ्ना ग्राहक भएको दावी गरेको छ । चालु आर्थिक बर्ष २०७४।७५ मा कम्पनीले ४५ अर्ब ४८ करोड रुपियाँ आम्दानी गरेको छ भने अघिल्लो वर्षमा उसले ४४ अर्ब ५९ करोड रुपियाँ कमाएको थियो । यस वर्षमा कम्पनीको खुद नाफामा १३ दशमलव ७३ प्रतिशतले वृद्घि भएर १७ अर्ब ४८ करोड रुपियाँ कमाएको छ भने प्रतिशेयर आम्दानी ११६ दशमलव ५६ रुपियाँ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement