क्यानको निलम्बन फुकुवा हुनलाग्योः खेलकुदमन्त्री, फकुवापछि खेलाडीहरुले तलव पाउने दावी

Advertisement

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।

रिपोर्टस क्लबमा मन्त्री विश्वकर्माले आइसीसीले दिएको रोडम्याप अनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी गरे ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

आइसीसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिला भएको बताए । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने विश्वकर्माले बताए ।

साथै, उनले आइसीसीमार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि क्यानको निलम्बन फुकवापछि प्राप्त हुने बताए । निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसीसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।

नेपालमा बन्दै गएको सकारात्मक वातावरणलाई मनन् गर्दै निलम्बन फुकुवा गर्न मन्त्री विश्वकर्माले आइसीसीलाई आग्रह पनि गरे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिएर सम्मान गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

खेलाडिलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको भन्दै विश्वकर्माले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा पुर्याउने बताए ।

क्रिकेटकै प्रसंगमा विश्वकर्माले मुलपानी क्रिकेट मैदान साँढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने दावी गरे । आफू मन्त्री हुनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।

विश्वकर्माले भने, “जग्गाविवाद समाधानको प्रस्ताव मन्त्रिपरिषदले पास गरेर बजेटका लागि अर्थ मन्त्रालयमा प्रस्ताव लगेको छु । अर्थले प्रस्ताव स्विकार गर्नासाथ टेण्डर आव्हान गर्छौँ ।”

गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान सरकार आफैले नबनाएर किन अरुलाई जिम्मा दियो ? भन्ने प्रश्नमा मन्त्री विश्वकर्माले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको जवाफ दिए ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सरकार आफैले पनि रंगशाला बनाउने भन्दै उनले भक्तपुरमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए । त्यसैगरी सात वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने सरकारको लक्ष्यअनुसार काम भइरहेको पनि बताए ।

हरेक स्थानीय तहमा खेलग्राम बनाउने योजनासमेत सरकारसँग रहेको मन्त्री विश्वकर्माले सुनाए । त्यसका लागि स्थानीय तहले ३० प्रतिशत र संघीय सरकारले ७० प्रतिशत बजेट उपलब्ध गराउने छ ।

नेपालीक्रिकेट खेलाडिले प्राप्त गरेको सफलतलाई सरकारले सदुपयोग गर्न नसकेको भन्ने पत्रकारको प्रश्नमा मन्त्री विश्वकर्माले वर्तमान सरकार देशको विकास र समृद्धिसँगै खेल क्षेत्रको विकासकालागिपनि प्रतिवद्ध भएको दावी गरे ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै खेलकूद क्षेत्रको विकासका लागि सक्रिय भएको दावी गर्दै उनले आगामी सेप्टेम्रबमा हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) सम्पन्न गर्नका लागि सरकारले तिब्रताका साथ तयारी अगाडि बढाइरहेको बताए ।

विश्वकर्माले यसअघिका सरकारले १३ औँ सागको तयारीमा बेवास्ता गरेका कारण अहिले समस्या उत्पन्न भएको तर्क गर्दै चुनौतिको सामना गर्न आफू सक्षम रहेको बताए ।

Advertisement

Advertisement

Advertisement