चितवनको पार्वतीपुरमा २५ लाख रुपियाँ लगानीमा ‘ओम शिवालय’ हाट बजार सञ्चालन हुँदै

om-shiwalaya-haat-bazar

चितवन । भरतपुर–२१स्थित ओम शिवालय कृषि सहकारी संस्थाले पार्वतीपुरमा ओम शिवालय हाट बजार सञ्चालन गर्ने तयारी गरेको छ । संस्थाले आधुनिक व्यवस्थापनसहित सञ्चालन गर्न लागेको हाट बजारमा ८२ वटा स्टल रहने छन् ।

हाट बजार सञ्चालनका लागि मनोज बरालको संयोजकत्वमा भौतिक संरचना निर्माणको काम भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर २१लगायत १४, १५, २०, २२, २३ र २५का स्थानीयहरुप्रत्यक्षरुपमा लाभान्वित हुनेसंस्थाका अध्यक्ष दीपक लामिछानेले बताए । उनले फलफूल, तरकारी, फेन्सी, खाजा, माछामासु, डेरी, मह, जुस, आइसक्रिम, मनोरञ्जन सामग्री खेलौना, जडिबुटी तथा बिरुवा नर्सरी, हस्तकला सामग्री, भाँडाकुँडा, फेन्सी, कृषि तथा विद्युतीय सामग्रीहरु जस्ता वस्तुहरुको स्टलहरु रहने बताए ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न हाटबजार व्यवस्थापन समितिले स्थानीय कृषकहरुलाई विशेष प्राथमिकता दिएको छ । करिव आठ८ कट्ठा क्षेत्रफलमा फैलिने पार्वतीपुरको हाट बजारमा पार्किङ, शौचालय, फोहोर व्यवस्थापनको पनि उचित व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।

स्थानीय युवा सहकारीकर्मीहरुको सक्रियतामा २५ लाख रुपियाँ लगानी भई ओम शिवालय हाट बजार सञ्चालन गर्न लागिएको हो । यही फागुन ४ गतेबाट हरेक हप्तामंगलबारर शनिबार यो बजार नियमितरुपमा सञ्चालनमा आउनेछ ।