सफल भैँसीपालक महिला उद्यमी वकी, अन्य दुई जनालाई आंशिकरूपमा रोजगारी

Advertisement

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४१ वर्षीया वकी डाँगी व्यावसायिकरूपमा भैँसीपालन गरेर छोटो समयमा एक सफल उद्यमीका रूपमा आफूलाई चिनाउन सफल भएकी छिन् ।

विगत पाँच वर्षदेखि सो पेसा अङ्गालेकी डाँगी अहिले घरपरिवारका दुई सदस्यसहित भँैसीपालनमा संलग्न छिन्। साथै उनले स्थानीय अन्य दुई जनालाई आंशिकरूपमा रोजगारी पनि दिएकी छिन् ।

डाँगी आफ्नो यो पशुपालन पेशाबाट आफुले सन्तुष्टि पाएको भन्छिन््, “वार्षिक करीब सात लाख रुपियाँ बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ । प्राय भैँसीका पाडापाडीको स्याहार सुसारमै उनको दिन बित्छ ।

परम्परागतरूपमा खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फार्म दर्ता गरी व्यावसायिकरूपमा भैँसीपालनको शुरुआत गरेकी हुन् ।

उनले भनिन्– “शुरुमा एक लाख रुपियाँमा एक उन्नत जातको भँैसी खरीद गरी भैँसीपालन गरेकी हूँ, अहिले फार्ममा साना ठूला गरी १४ वटा भैँसी छन् ।”

अहिले उनका फार्ममा सातवटा दुहुना भैँसी छन् । ती भैँसीले दैनिक रूपमा दिने ६० देखि ७० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री हुन्छ । केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरीद गरी लिनेगरेको उनले बताइन।

डाँगीको भैँसी फार्ममा दूध खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकोले किन्न आएको बताए ।

उनले भनिन्, “यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुशीलागेको छ ।” डाँगीको फार्ममा अहिले सम्म २५ लाख रुपियाँ सम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक २० देखि २५ लाख रुपियाँसम्म आम्दानी हुन्छ ।

आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि सात लाख रुपियाँ बचत गर्न सफल भएको डाँगीको दाबी छ ।

घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरण्नलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च भने बढ्ने उनको अनुभव छ ।

“अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन । ”
कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले उनको भँैसी फार्ममा विभिन्न ठाउँबाट भँैसी हेर्न, जानकारी लिन तथा भँैसी खरीदका लागि समेत मानिस आउने गरेका छन् ।

“पढेलेखेका सबैले पैसा कमाउनका लागि जागिर खानै पर्छ या विदेश जानैपर्छ भन्ने छैन”, उनको सुझाव छ । पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ, उनले तर्क गरिन् । तर त्यसका लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरूपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ । त्यस्तै उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानलाइ अझै हौसला मिल्ने उनको अनुभव छ ।

Advertisement

Advertisement

Advertisement